Logo
Logo

नगरपालिकाको गाडीमा आगजनी


- दृष्टि न्युज/संवाददाता


अछाम, १ जेठ । अछामको मंगलसैन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा२झ ३६९४ नंको गाडीमा गएराति आगजनी भएको प्रहरीले जनाएको छ ।
रातिको समयमा आगजनी भएकाले गाडी पूर्णरुपमा ध्वस्त भएको छ । नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीका अनुसार गाडीमा आगजनी गर्नेको खोजी भइरहेको छ ।
मंगलसैन बजारका स्थानीयवासीले गाडीमा आगजनी भएको प्रहरीलाई जानकारी गराएका थिए । रातिको समयमा आगजनी गरिएकाले अहिलेसम्म आगजनी कसले गरेको हो भन्ने कुरा पत्ता नलागेको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।
पार्किङ गरेर राखिएको गाडी योजनाबद्ध ढंगले आगजनी गरेको हुनसक्ने प्रमुख प्रशासकीय अधिकृत गणेश ढुंगानाले बताए । सोही ठाउँमा पार्किङमा राखिएको टिपरलगायत अन्य सरकारी गाडीलाई केही पनि नगरेको उनले बताए । नगरप्रमुख पदमबहादुर बोहरा चढ्ने उक्त गाडी नगरपालिकाले करीब एक वर्षअघि रु एक करोड २० लाखमा खरीद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्