Logo
Logo

जनयुद्धका घाइतेको खुट्टामा अझै गोलीका छर्रा




बागलुङ । जनयुद्धका घाइते मनबहादुर घर्तीको खुट्टामा अहिले पनि गोलीका छर्रा छन् । गोली लागेको ठाउँ देखाउँदै ३३ वर्षीय घर्तीले उपचार खर्च नपाएको गुनासो गर्नुभयो ।
ताराखोला गाउँपालिका– ५ का घर्ती विसं २०६० तिर दाङमा भएको सशस्त्र भीडन्तमा घाइते हुनुभएको थियो । उपचारपछि हिँडडुल गर्न सक्ने भए पनि उहाँमा दुखाइको समस्या ठिक भएको छैन । ‘सामान्य अवस्थामा जस्तो हिँड्न सहज छैन’, उहाँले भन्नुभयो, ‘चिकित्सकले छर्रा हड्डीमा मिलेर बसेको छ निकाल्दा झन् समस्या हुन्छ भनेपछि निकालिएको छैन ।’ घाइते भएपछि तत्कालै माओवादी सेनाको स्वास्थ्य टोलीले उहाँको प्राथमिक उपचार गरेको थियो ।

माओवादी जनयुद्धका घाइते ताराखोला गाउँपालिका–५ का मनबहादुर घर्ती खुट्टामा गोली लागेको ठाउँ देखाउँदै । राज्यबाट कुनै सहयोग, सुविधा नपाएको उहाँको गुनासो छ । तस्वीर :रासस


पछि सीमापार भारतसम्म पुगेर थप उपचार गरेको घर्तीले बताउनुभयो । उहाँले शरीरमा गोलीका छर्रा बोकेर हिँडेको १५ वर्ष भएको छ । जनयुद्धको नेतृत्व गर्ने तत्कालीन नेकपा (माओवादी) अहिले नेकपाको रुपमा सरकारमा हुँदा पनि आफू अन्यायमा परेको उहाँको गुनासो छ ।
पछिल्लो समय पार्टीका जिम्मेवार केही नेताले फोन गरेर काठमाडौँ आउनुस् उपचार खर्च दिलाउँछौँ भनेर आश्वासन दिएको घर्तीले बताउनुभयो । घाइते भएपछि जनमुक्ति सेनामा निष्क्रिय बन्नुभएका घर्ती शान्ति प्रक्रियासँगै पार्टी राजनीतिमा सक्रिय हुनुभएको थियो । अहिले उहाँ गाउँकै एक जलविद्युत् आयोजनामा व्यवस्थापकको रुपमा कार्यरत हुनुहुन्छ ।
नेपालको अवस्था फेरिन्छ र जनजीविकामा आमूलपरिवर्तन हुन्छ, भन्ने विश्वासमा आफू जनयुद्धमा होमिएको घर्तीको भनाइ छ । द्वन्द्वपीडितको नाम भजाएर कतिपयले राज्यबाट सेवा सुविधा लिएको उहाँको आरोप छ । आर्थिक सहयोग पाएमा गोलीका छर्रा निकाल्ने सोच उहाँको छ ।
जनयुद्धले घर्तीको परिवारमा अर्को पनि पीडा दिएको छ । उहाँका माइला दाजु बाजेन्द्र विसं २०५८ देखि बेपत्ता हुनुहुन्छ । आमा, जेठा दाइ र भाइसहित परिवारमा बस्दै आउनुभएका घर्तीले १२ कक्षासम्मको अध्ययन गर्नुभएको छ । कक्षा ८ मै पढाइ छाडेर जनयुद्धमा होमिनुभएका उहाँले शान्ति प्रक्रियापछि पढाइ अघि बढाउनुभएको थियो ।
गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले उपचार खर्चको लागि गाउँपालिकाबाट प्रक्रिया अघि बढाइएको बताउनुभयो । ‘गृह मन्त्रालयमा सिफारिस पठाएका छौँ’, उहाँले भन्नुभयो, ‘सबैले पाउँदा उहाँको कसरी छुट्यो हामी पनि अनविज्ञ छौँ ।’ (रासस)

प्रतिक्रिया दिनुहोस्