Logo

अफगान कारागारमा तनाव, ४ को मृत्यु, प्रहरीसहित ५३ घाइते


Published On : 15 May, 2019

काबुल, १ जेठ (एएनआई) । अफगानिस्तानको पुल–ए–चार्खी कारागारमा भड्किएको हिंसाका कारण ४ जना कैदीको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् । झडपमा २० जना प्रहरी पनि घाइते भएका छन् ।
अफगानिस्तानको गृह मन्त्रालयका अनुसार कारागारभित्र प्रहरीले खानतलास गर्न थालेपछि हिंसा भड्किएको थियो । महान्यायाधीवक्ता कार्यालय र गृह मन्त्रालयको आदेशमा कारागारभित्र लागूऔषधको कारोबारका विषयमा खानतलासी गरिएको थियो ।
प्रहरीका अनुसार चार वटा कारागार भवनभित्र खानतलासी गरिएको थियो । तर प्रहरीमाथि केही कैदीले आक्रमण गरेका थिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा ल्याउन हवाई फायर गरेको थियो । कैदीहरुले प्रहरीका हतियार पनि खोस्ने प्रयास गरेको गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताएका छन् । उक्त घटनाका बारेमा छानबिन शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्