Logo
Logo
कला

‘साथीहरूले हौसाएपछि मोडल बनेँ’



र्याम्प मोडलिङका लागि चर्चित नाम हो– अनिता गिरि । पाँच फिट पाँच इन्च उचाइकी शालिन र सुन्दर अनितालाई शारीरिक हाउभाउले समेत र्याम्प मोडल बन्न सुहाउँछ । तर, हिजोआज उनी र्याम्प मोडलिङ गर्दिनन् । ‘एउटै काम सधैं गरिरहँदा दिक्क लाग्दोरहेछ, त्यसैले र्याम्प मोडलिङ छाडेर म्युजिक भिडियोतिर लागेकी हुँ’ अनिता भन्छिन् । अनिताले र्याम्प मोडलिङ छाड्नुको अर्को पनि कारण छ– कम पारिश्रमिक । र्याम्प मोडलिङमा बढी हाईफाई देखाउनुपर्ने हुन्छ । त्यसका लागि आर्थिकरुपमा आफू बलियो हुनुपर्छ । त्यो अवस्था नदेखेपछि अनिता म्युजिक भिडियोतिर ढल्केकी हुन् । विभिन्न फेसन शो र रनवेजस्ता करिब दुई दर्जन र्याम्प शो गरिसकेकी खोटाङ सिमपानीकी २० वर्षीया अनिता हिजोआज म्युजिक भिडियोमै व्यस्त छिन् । उनै मोडल अनिता गिरिसँग एमपी सुब्बाको जम्काभेट :

खोटाङ गायक/गायिकाका लागि उर्वर मानिन्छ, तपाईँचाहिँ कसरी मोडलिङमा लाग्नुभयो ?

मलाई सानोमा मोडलिङप्रति रुची थिएन । जब ९-१० कक्षा पढ्दैगर्दा साथीहरूले मोडलिङका लागि हौसाला दिए । त्यही कारण मोडलिङ क्षेत्र रोज्न पुगेकी हुँ ।

रुची नभएको क्षेत्रमा लाग्ने गरी साथीहरूले कसरी हौसाए ?

तिमी राम्री छौँ । तिम्रो हाइट पनि मोडलिङका लागि सुहाउँदो छ । मोडलिङतिर लाग भनेपछि मैले सोचेँ– हो, मैले जीवनमा केही गर्नुपर्छ । अनि मोडलिङमा चासो दिन थालेँ । र, ¥याम्प शोबाट मोडलिङ सुरु गरेँ ।

तपाईंको हाइट कति हो ?

मेरो हाइट पाँच फिट पाँच इन्च छ । त्यसैले नै साथीहरूले मलाई मोडलतिर लाग्न हौसाएका हुन् ।

मोडलिङ क्षेत्रमा लाग्नुभएको कति भयो ?

व्यवसायी रुपमा ४ वर्षदेखि मोडलिङ गर्दै आएकी छु । तीन वर्षसम्म र्याम्प मोडलिङमा थिएँ । तर, अहिले र्याम्प छाडेर म्युुजिक भिडियो र विज्ञापनहरूमा मोडलिङ गर्दै आएकी छु ।

र्याम्प मोडलिङ किन छाड्नुभएको नि ?

एउटै काम धेरै गरियो भने वाक्कदिक्क लाग्दोरहेछ । फेरि र्याम्प मोडलिङमा आम्दानी पनि राम्रो छैन । हाईफाई भने बढी नै गर्नुपर्छ । र्याम्प मोडलिङ गरेको आम्दानीले हाईहाई गर्नै पुग्दैन । त्यसैले छाडेकी हुँ ।

तीन वर्षको अवधिमा कति वटा र्याम्प शो गर्नुभयो ?

साना–ठूला गरी थुप्रै शोहरू गरेकी छु । रनवे, फेसन शोसहित दुई दर्जनभन्दा बढी र्याम्पहरूमा हिँडेकी छु ।

र्याम्प शो छाडेर आएपछि कति वटा म्युजिक भिडियोमा काम गर्नुभयो ?

अहिलेसम्म एक दर्जन पुग्यो । केही दिनअघिमात्र ‘म त मरेको मान्छे’ बोलको सेन्टिमेन्टल गीतको मेरो भिडियो सार्वजनिक भएको छ । यो गीतलाई पनि श्रोता दर्शकले रुचाएका छन् ।

र्याम्प र म्युजिक भिडियोमध्ये कुन सजिलो ?

काम उस्तै हो । फरक यति हो कि ¥याम्पमा स्पशेल्ली मुमेन्ट चाहिँन्छ भने म्युजिक भिडियोमा मुमेन्टसँगै अभिनय पनि गर्नुपर्छ । गर्दै जाँदा दुवै सजिलो र दुवै गाह्रो पनि छ । आफ्नो इच्छा र रुचीले काम गर्दा दुवै सजिलो लाग्छ ।

तपाईँले मोडलिङ गर्नुभएको कुनै लोकप्रिय भिडियो भन्नुपर्दा ?

‘सजाय’ र ‘तिम्रो माया’ गीतको भिडियो निकै रुचाइएको थियो । पछिल्लो समय आएको ‘म त मरेको मान्छे’बाट राम्रो प्रतिक्रिया आइरहेको छ ।

म्युजिक भिडियोबाट कस्तो आम्दानी भइरहेको छ ?

काम गरेअनुसार चित्तबुझ्दो नै छ । र्याम्पबाट मोडलिङ सुरु गरेका कारण मैले म्युजिक भिडियोका लागि अझै धेरै गर्नुछ ।

फिल्ममा अभिनय गर्ने इच्छा छ कि छैन ?

मेरो इच्छा भनेको फिल्ममा मुख्य भूमिकामा अभिनय गर्नु हो । तर, मैले चाहेजस्तो फिल्ममा अफर आएको छैन । दुई-तीन वटा फिल्ममा अफर आएको थियो । तर, कमेडीटाइपको फिल्ममा भएकाले मैले गरिनँ । मलाई लभस्टोरी फिल्ममा काम गर्ने इच्छा छ ।

मोडलिङबाहेक अरु के गर्नुहुन्छ ?

केही गर्दिनँ । भर्खरै प्लस–२ सकेर बसेकी छु । पढाइलाई पनि अगाडि बढाउनु छ । त्यसैले पढाइबाहेक म कलाकारितामै केन्द्रित छु ।

आफूले रोजेको मोडलिङ क्षेत्रबाट सन्तुष्ट हुनुहुन्छ ?

अहिलेसम्म सन्तुष्ट नै छु । मैले अझै धेरै गर्न बाँकी छ । जति अनुभव गरेँ, रमाइलो भइरहेको छ । खुसी छु ।

प्रतिक्रिया दिनुहोस्