Logo
Logo

गृहमन्त्रीको जिल्लामा रामकृष्ण खाँण सर्वसम्मत



बुटवल । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट रामकृष्ण खाँण सर्वसम्मत सभापतीमा चयन भएका छन् । उनले यस अघि दुई कार्यकाल जिल्ला सचिवको जिम्मेवारी पुरा गरीसकेका छन् ।

यस्तै उपसभापतीमा डा. अनिता ढुंगाना (शाह) र थानेश्वर घिमिरे, सचिवमा हरि काफ्ले र परमानन्द भटराई सर्वसम्मत भएका छन् । सहसचिवमा बिष्णु थापा र बासुदेव रिमाल निर्विरोध निर्वाचित भएका छन् । उपसभापति, सचिव, सहसचिव र सदस्यहर पनि भागबण्डाकै आधारमा सर्वसम्मत चयन गरिएको छ ।

गाउँ नगर र क्षेत्रको अधिबेशनमा कुटाकुटमै उत्रिएको रुपन्देही काँग्रेस जिल्लामा सर्व सम्मत हुन सक्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर, जिल्लामा राम्रो सन्देश दिएको नेता कार्यकर्ताको बुझाई छ ।

गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण पछिल्लो समय केहीदिन जिल्लामै बसेर सर्बसम्मतका पहल गरेका थिए । शनिबार सम्पन्न जिल्ला अधिवेशनको घोषणा सभालाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले काँग्रेसका आम कार्यकर्तालाइ साझा नेतृत्वको महशुस गराउँदै पार्टीलाइ थप गतिशिल बनाउन नवनिर्वाचित नेतृत्वलाइ निर्देशन दिए ।

निर्वाचनबाट कसैले पनि हारको महशुस गर्नु नपरोस भन्ने उदेश्यले रुपन्देहीबाट सहमती र एकताको सन्देश दिन सफल भएको उनको भनाई छ । गृहमन्त्री खाँणले काँग्रेस कमजोर हुँदा लोकतन्त्र र आम नेपाली नागरिक कमजोर हुने भन्दै अपसी सहमती र एकताले पार्टीलाइ मजबुद बनाउने बताए ।

यस्तै नव निर्वाचित रुपन्देहीका सभापति रामकृष्ण खाँडले नेपाली काँग्रेसलाई सुदृढ उर्जाशील र उत्साहित काँग्रेस वनाउने वताए । ‘अब मैले पार्टीलाई गतिशिल, चलायमान, उर्जाशिल र ठूलो पार्टा वनाउन लाग्ने छु ।’ उनले भने, ‘आउने तीनै तहको संघिय निर्बाचनमा पार्टीलाई बिजयी गराउनेछु ।’

यस्तै नेता भरत शाहले नेपाली काँग्रेसका आम नेता कार्यकर्ताको जित र अपनत्वका लागि रुपन्देहीमा सर्बसम्मत रुपमा साझा नेतृत्व चयन गर्न सफल भएको बताए । त्यस्तै पार्टीका पुर्व जिल्ला सभापती रामचन्द्र ढकाल, प्रतिनिधि सांसद प्रमोद यादव, निर्वतमा सभापती अब्दुल रज्जाक, प्रदेश सांसद अष्टभुजा पाठक लगायतले बोलेका थिए ।

कसरी सहमत भयो सर्वसम्मत नेतृत्व ?
गृहमन्त्री खाँणको नेतृत्वमा सार्वजनिक लेखा समिति सभापती भरत शाह, संस्थापन इतर पक्षका नेता पुर्व जिल्ला सभापती रामचन्द्र ढकाल, प्रतिनिधि सांसद प्रमोद यादव, प्रदेश सांसद अष्भुजा पाठक, निर्वतमान जिल्ला सभापती अब्दुल रज्जाक लगायतका नेताहरुको सक्रियतामा जिल्लाको नेतृत्व सर्बसम्मत गराउने सहमती भएको हो ।

रुपन्देही जिल्लामा सम्पूर्ण पदमा सर्बसम्मत नेतृत्व चयन भएको हो । नवनिर्वाचित सभापती राकृष्ण खाँण गृहमन्त्री खाँणका भाइ हुन् । उनी संस्थापन पक्षका हुन् । सभापतीसहित एक सचिव र सहसचिव संस्थापन पक्षबाट ल्याइएको छ ।

एक उपसभापती भने भरत शाह पक्षबाट राखीएको छ । उपसभापती अनिता ढुंगाना शाह नेता शाहकी पत्नी हुन । एक उपसभापती, एक सचिव र एक सहसचिव संस्थापन इतर पक्षले पाएको हो । सदस्यमा पनि तीन पक्षबाटै भागबण्डा गरी मिलाईएको छ ।

निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले शनिबार सम्पन्न अधिवेशनबाट रामकृष्ण खाँणको नेतृत्वमा ७५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्