Logo
Logo

सोल्टीमा एवन मेला सम्पन्न



काठमाडौं । नेपाली हस्तकलाका सामग्रीहरुको प्रवद्र्धन गर्ने उद्देश्यले गत शनिबार होटल सोल्टीमा ‘एवन मेला’ सम्पन्न भयो । मेलामा ५० वटा हस्तकलाका सामग्रीको स्टल थियो । नेपाली उत्पादनलाई प्रोत्साहन गर्न र महिलालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यले यो मेलाको आयोजना गरिएको मेलाका संयोजक बाबा सरकार श्रेष्ठले दृष्टिलाई बताउनुभयो ।

मेलामा माइती नेपालका महिलाहरुले उत्पादन गरेका पोतेका सामान बेच्न राखिएका थिए भने स्याङ्जाका आमाहरुले हातले बुनेका जाडोको स्विटरहरु बिक्रीका लागि राखिएको थियो ।

स्याङ्जा जिल्लाको विभिन्न गाउँमा बस्ने आमाहरुले फुर्सदमा सिजनअनुसारको कपडा बुन्ने र त्यो कपडाका सामान बजारमा ल्याएर बेच्ने गरेको दिनकर नेपालले बताउनुभयो । स्याङ्जाका ग्रामीण भेगका ५० जना आमाहरु यसमा क्रियाशील हुनुहुन्छ ।

त्यसैगरी डम्बरकुमारी ढाकाको स्टलमा ढाकाको कपडाबाट बनाइएको विभिन्न सामग्री राखिएको थियो । चिनारी वस्त्रकलामा अपांगता भएका व्यक्तिहरुले आफ्नो सीप अनुसार बनाइएका विभिन्न डिजाइनको कपडाहरु राखिएको थियो । चिनारीका सञ्चालक रन्जु थापाका अनुसार १५ जना सुस्त मनस्थिति भएका व्यक्तिलाई आफूले कपडाका सामान र डिजाइन उपलब्ध गराइदिने र उत्पादन भएपछि पारिश्रमिक दिने बताउनुभयो । उक्त स्टलमा कटनका पर्दा, तन्नालगायतका सामग्री राखिएको थियो ।

उक्त स्टलको अर्को आकर्षण मोहक ब्राण्डको ड्राइफुड स्टलको थियो । मोहक ब्राण्डका सञ्चालिका रेजिना प्रधानले विभिन्न खालका ड्राइफुडबाट सुगर फ्रि कुकिज बनाएको बताउँदै यसखाले कुकिजले ‘इम्युन पावर’ बढाउने बताउनुभयो ।

आकर्षक प्याक सुपथ मूल्य रहेको मोहक कुकिज अनलाइनमार्फत बिक्री वितरण भइरहेको छ । उक्त मेलामा फिलिपिनो महिला आयशा सुवेदीले विभिन्न खालका फिलिपिनो खाद्य वस्तु उत्पादन गरेर प्रदर्शनमा राखेको बताइन् ।

मेलाको अर्को आकर्षण आज डाइनेष्टीले नेपाली कागजको डायरीलगायतका सामानहरुमा उखान टुक्का लेखेर बेच्न राखिएको थियो । पंचमबुद्ध सिद्धान्तमा आधारित सुगन्धित धुप र नेपाली वैदिक मन्त्र विभिन्न उत्पादनमा प्रिन्ट गरिएको थियो । आज डाइनेष्टीका रोशन पोखरेल पेशाले चार्टर्ड एकाउन्टेन भए पनि नेपाली ब्राण्डलाई विदेशमा चिनाउन यो काममा लागेको दृष्टिसँग बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्