Logo
Logo

ओलीविरुद्धको गतिविधिले प्रभु साहको राजनीति संकटमा



काठमाडौं । नेकपा माओवादी केन्द्रमा हुँदा प्रभावशाली छवि बनाएका प्रभु साहले नेकपा एमाले प्रवेश गरेपछि प्रभाव गुमाएका छन् । एमालेको १०औं महाधिवेशनमा सचिवको दावी गरेका साहले केन्द्रीय सदस्यमा चित्त बुझाउनु परेको छ ।

माओवादी जनयुद्धबाट स्थापित नेता साहले पछिल्लो समय एमाले र माओवादी एकतापछि बनेको नेकपा खारेज भइ एमाले र माओवादी ब्युँतदा एमालेमै रहने निर्णय गरेका थिए । माओवादी परित्याग गरेका कारण सांसद र मन्त्री पद गुमाएसँगै प्रभावहीन बनेका साह एमालेमा पनि कमजोर सावित भएका छन् ।

महाधिवेशन नजिकिँदै जाँदा साहले सचिवका लागि लविङ गरेका थिए । तर, उनको प्रयास सफल हुन सकेन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग धेरैपटक सचिवका लागि अनुनय गरेपनि उनी सचिव बन्न सकेनन् । माओवादीका अन्य नेतालाई संरक्षण गरेपनि साहको सवालमा ओली सकारात्मक नहुँदा साहको राजनीति संकटमा परेको हो ।

ओलीले किन रुचाएनन् ?
एमाले अध्यक्ष ओली माओवादीबाट आएका नेतालाई संरक्षण गर्दै अरु नेता पनि एमाले प्रवेश गराउने योजनामा छन् । यस्तो अवस्थामा पनि प्रभुलाई ओलीले नरुचाउनुको कारण छ ।

माओवादी परित्याग गरेर एमालेमा रहने निर्णयमा पुगेका साहले सुरुवाती चरणमा ओलीका सबै कुरा मान्दै आएका थिए । तर, पछिल्लो समय साह अनावश्यक रुपमा ओलीविरुद्ध उत्रे । त्यसैको रिस ओलीले फेरेका हुन् ।

ओलीविरुद्ध अनावश्यक संघर्षमा जुटेका साहले पार्टीसँग सल्लाह नै नगरी आइटी आर्मी नामक युवा दस्ता समेत गठन गरेका छन् । त्यति मात्र नभइ उनले एमाले परित्याग गर्ने समेत योजना बनाएका छन् । सोही कारण साह ओलीको विश्वास पात्र बन्न नसकेका हुन् । ओलीको विश्वासपात्र बन्न नसकेकै कारण सचिव त पाएनन् नै झण्डै केन्द्रीय सदस्य पद पनि नपाउने अवस्था बनेको थियो ।

ओलीले सचिव अस्वीकार गरेपछि केन्द्रीय सदस्य भएपनि बन्ने योजनामा लागेका साहलाई मतदानबाटै हराउने ओलीको मनासय थियो । तर, अहिलेको अवस्थामा पूर्वमाओवादीलाई यस्तो व्यवहार गर्दा नकारात्मक सन्देश जाने भन्दै विष्णु पौडेल लगायते सम्झाएपछि साहलाई केन्द्रीय सदस्य बनाउन ओली तयार भएका हुन् ।

ओली देवत्वकरण काम लागेन
केही समय अगाडिसम्म ओलीको खोइरो खन्दै आएका साह महाधिवेशनको संघारमा भने ओली देवत्वकरणमा जुटेका थिए । दृष्टिन्यूजसँगको कुराकानीमा उनले ‘एमालेमा ओलीको विकल्प छैन । ओली नै नेता हुन् । ओलीजी जे भन्नु हुन्छ सबैले मान्नुपर्छ’ भन्दै ओलीको पक्षमा बोलेका थिए । त्यसरी नै उनले धेरै भाषण पनि गरेका थिए ।

साहले ओलीलाई खुसी नबनाएसम्म केही पाइन्न भनेर बुझ्दा समय निक्कै घर्कीसकेको थियो । ओलीलाई खुसी बनाउनु पर्छ भन्ने साहले थाहा पाउँदा साहप्रति ओली अनुद्धार भइसकेका थिए । उनले सचिव नपाउनु त्यसैको परिणाम थियो ।

पोलिटव्युरोमा आशा
सचिव ताके पनि केन्द्रीय सदस्यमै चित्त बुझाएका साहलाई पार्टीले पोलिटव्युरो सदस्य बनाउने आशा छ । एमालेको विधानअनुसार महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले नै पोटिलव्यूरो गठन गर्नेछन् । सो क्रममा पोलिटव्युरो सदस्य बन्ने साहको अबको चाहना हो । तर, ओलीबाट विश्वास गुमाइसकेका साह पोटिलव्युरो सदस्य बन्ने सम्भावना पनि कम छ ।

राजनीतिक भविश्य संकटमा
दुःख गरेर बनाएको पार्टी परित्याग गरेका साहको राजनीतिक भविश्य संकटम परेको छ । अहिले जुन पार्टीमा छन् त्यो पार्टीमा विश्वास कायम गर्न नसकेका साहले भूगोल पनि गुमाउने निश्चित जस्तै छ ।

एमाले प्रवेश गरेसँगै माओवादी अध्यक्ष प्रचण्ड र माओवादीविरुद्ध उनले गरेको भाषणका कारण माओवादी नेता कार्यकर्ताको भावनामा चोट पर्याकाए छन् । माओवादी शान्ति प्रकृयामा आएपछि लगातार माओवादीले चुनाव जितेको उनको निर्वाचन क्षेत्रका कम मात्र माओवादी साहसँग एमाले गएका छन् । बहुसंख्यक मतदाता माओवादीमै छन् । त्यसैले अवको निर्वाचनमा साहले जित्ने सम्भावना कम छ । सँगै उनको राजनीतिक करिअर नै संकटमा पर्ने खतरा छ ।

प्रतिक्रिया दिनुहोस्