Logo
Logo

एमाले महाधिवेशनको मैझारो- ओलीले चाहेका सबै पदाधिकारी निर्वाचित



सौराहा, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाका अनुसार अध्यक्षमा ओलीले १८ सय ३७ मत ल्याएर बिजयी भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी डा. भीम रावलले दुई सय २३ मत ल्याएका छन् ।

आयोगका अनुसार ३३ भोट भने खाली भएको छ । दुई हजार एक सय ५३ जना प्रतिनिधि रहेकामा २ हजार ९६ मत खसेको थियो । विद्युतीय मेसिनबाट मतदान गरिएकाले मत परिणाम छिटै सार्वजनिक भएको हो । ६९ वटा भोटिङ मेसिनमा महाधिवेशन प्रतिनिधि मत रेकर्ड भएको थियो ।

एमालेको ८औं महाधिवेशनमा झलनाथ खनालसँग अध्यक्षमा पराजित ओली ९औं महाधिवेशनमा अध्यक्ष निर्वाचित भएका थिए । ९औं महाधिवेशनमा ओलीले माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भए । र, १०औं महाधिवेशनमा भीम रावललाई पराजित गर्दै पुनः अध्यक्ष निर्वाचित भएका हुन् ।

६ उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा सात जना प्रतिस्पर्धी थिए । अष्टलक्ष्मी शाक्य १९ सय ७६ मत, सुरेन्द्र पाण्डे १९ सय २५ मत, सुवासचन्द्र नेम्वाङ १८ सय ६५ मत, बिष्णु पौडेल १८ सय ५६ मत, युवराज ज्ञवाली १८ सय ४२ मत र रामबहादुर थापा बादल १७ सय ६८ मत ल्याएर उपाध्यक्षमा बिजयी भएका छन् ।

उपाध्यक्षका प्रतिस्पर्धी घनश्याम भुसालले ७ सय २५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पराजित भुसाल ओली समूहको प्यानलमा थिएनन् । उपाध्यक्षमा निर्वाचित ६ जना नेताहरु ओली समूहको प्यानलका हुन् ।

सात सचिव पदका लागि भएको निर्वाचनमा ओली समूहका सातै जना बिजयी भएका छन् । गोकर्ण विष्टले १९ सय ७४, योगेश भट्टराईले १९ सय ६०, पद्मा अर्यालले १८ सय, छविलाल विश्वकर्माले १८ सय ३, लेखराज भट्टले १७ सय ४, टोपबहादुर रायमाझीले १८ सय ४, रघुविर महासेठले १५ सय मत ल्याएर सचिवमा बिजयी भएका छन् ।

सचिवका उम्मेदवार भीम आचार्य १३ सय र टंक कार्की पाँच सय मत ल्याएर पराजित भए । १९ सदस्यीय पदाधिकारीमा पाँच जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

आयोगका अध्यक्ष डा. सुब्बाका अनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदिप ज्ञवाली र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्