Logo
Logo

सर्वसाधारणले कर उठाउने ढाटमा आगो लगाए


- दृष्टि न्युज/संवाददाता


चितवन, ३ जेठ । प्रहरी प्रशासनले ठेकेदारसँग आर्थिक प्रलोभनमा परी ढाट राखेको भन्दै आक्रोशित हुँदै आएका स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा आगो लगाएका छन् । शुक्रबार उनीहरुले आगो लगाएका हुन् । आगो नियन्त्रणका क्रममा प्रहरी सहायक निरीक्षक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहका अनुसार बिहान ११ बजेको समयमा ३० र ४० जनाको समूहले पेट्रोल छर्किएर ढाटमा आगो लगाएका थिए । सो क्रममा आगो नियन्त्रणको प्रयास गर्दा त्यहीँ कार्यरत प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएका हुन् । खड्काको हात, खुट्टा, शरीर र टाउकामा आगोले पोलेको छ । घाइते खड्काको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आगलागीबाट ढाटमा रकम संकलन गर्न कर्मचारी बस्ने गरेको काउण्टर पूर्णरुपमा क्षति भएको शाहले बताए । पूर्वी चितवनवासीले यसअघि नै सो ठाउँबाट ढाट हटाउन स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए ।
शाहले चितवन क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्य कृष्ण खनालको नेतृत्वमा आगो लगाइएको बताए । तर, खनालले भने आफू घटना हुँदा सो स्थलमा भए पनि आफ्नो नेतृत्वमा आगो लगाउने काम नभएको भन्दै आक्रोशित जनताले आगो लगाएको बताए ।
प्रहरी प्रशासनले ठेकेदारसँग आर्थिक प्रलोभनमा परी त्यहाँ ढाट राख्न दिएको भन्दै अब तत्काल ढाट नहटाए स्थानीयवासीले सहेर नबस्ने खनालले बताए । उनले ढाटलाई सीमा क्षेत्रमा लैजानुपर्ने बताए । आफ्नै सदरमुकाम आउँदा–जाँदासमेत राजश्व तिर्नु परेपछि पूर्वी चितवनवासी मर्कामा परेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्