जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेश समितिको अध्यक्षमा रामबाबु यादवलाई चयन गरेको छ ।
जसपा मधेश प्रदेश समितिको आज जनकपुरधाममा बसेको बैठकले यादवलाई प्रदेश अध्यक्षमा चयन गरेको समितिका कार्यकारी अध्यक्ष तथा प्रदेश २ का कृषिमन्त्री विजय यादवले जानकारी दिए ।

अध्यक्ष चयन भएका यादव बारा क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । पार्टी एकीकरण तथा फुट पश्चात् समायोजन गरी उक्त समितिको गठन गरिएको हो ।
यसअघि पटक–पटकको बैठकमा अध्यक्ष पदका दावेदारहरु बढी भएका कारण समितिको गठन गर्न सकिएको थिएन । यस्तै, नवगठित ११ सदस्यीय पदाधिकारीहरुको नाम आज सार्वजनिक गरिएको छ ।
समितिको उपध्यक्षहरुमा रामपृत पासवान, शम्भु झा, शेषनारायण यादव, बृजमोहन तिवारी र रामसेवक यादव रहेका छन् भने मुख्यसचिवमा दिनेश कुमार यादवलाई चयन गरिएको छ ।
त्यस्तै सचिवमा युशुफ अलि, सैलेश कुमार साह र निरा साहलाई चयन गरिएको छ भने कोषाध्यक्षमा रेणु यादवलाई चयन गरिएको छ ।












