एकैपटक यसरी हुँदैछ साढे १७ हजार प्रहरीको बढुवा « Drishti News – Nepalese News Portal
Logo

एकैपटक यसरी हुँदैछ साढे १७ हजार प्रहरीको बढुवा


दृष्टि न्यूज



काठमाडौं । प्रहरी नियमावली संशोधन भएसँगै प्रहरी प्रधान कार्यालयले थपिएका नयाँ पदमा बढुवाको गृहकार्य थालेका छ । ती पदमा पूर्णरुपमा ज्येष्ठताको आधारमा बढुवा हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


संशोधित नियमावलीअनुसार नायब निरीक्षक(सइ)को २५ प्रतिशत दरबन्दी वरिष्ठ नायब निरीक्षकमा रुपान्तरण हुनेछ । नेपाल प्रहरीमा सइको तीन हजार नौ सय २८ दरबन्दी छन् । जसअनुसार अहिले ज्येष्ठताक्रममा रहेका नौ सय ८२ जना वरिष्ठ सइमा रुपान्तरण हुने र ज्येष्ठ सइहरु त्यसमा बढुवा हुनेछन् । यसरी बढुवा गर्दा अहिलेकै उनीहरुको ग्रेड कायमै हुनेछ । नयाँ पदमा बढुवा गर्दा एउटै ब्याचका सबै जना पर्ने प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए । ‘वरिष्ठ सइमा बढुवा गर्दा अन्तिममा पर्ने व्यक्तिको ब्याचको धेरै व्यक्ति बढुवामा पर्ने भएकोमा ब्याचका सबै जना पर्छन्,’ ती अधिकारीले भने,‘यदी थोरै मात्र पर्ने अवस्था आयो त्यो ब्याचबाट कसैको बढुवा हुँदैन ।’


सहायक हवल्दार र वरिष्ठ हवल्दारमा पनि यही नियम लागू हुनेछ । हवल्दार र वरिष्ठ हवल्दारको हकमा भने ३० प्रतिशत दरबन्दीलाई माथिल्लो पदमा कायम गरिएको छ । जवानको हाल ४० हजार ५ सय ८२ दरबन्दी छ । जसअनुसार १२ हजार एक सय ७४ प्रहरीको सहायक हवल्दारमा बढुवा हुनेछन् । त्यस्तै, चार हजार तीन सय ५५ जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा हुनेछन् । हाल हवल्दारको दरबन्दी १४ हजार पाँच सय १७ छ । यसका लागि यस अघि नै प्रहरी प्रधान कार्यालयले दरबन्दी पुनसंरचना गरिसकेको छ ।


नियमावली संशोधन भएपछि जसअनुसार एकै पटक नेपाल प्रहरीमा एक पटक १७ पाँच सय ११ जना बढुवा हुने भएका छन् । नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वायन हुनेछ । एउटै पदमा १७÷१८ वर्षसम्म रहनुपर्ने अवस्थाले तल्लो तहका प्रहरीमा नैराश्यता बढाएको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयको प्रस्तावमा सरकारले केही नयाँ दरबन्दी थपेको थियो । त्यसले तल्लो तहको बढुवामा वर्षाै कुुर्नुपर्ने समस्या केही हदसम्म हल गर्ने प्रहरी अधिकारीहरु बताउँछन् । यसले प्रहरीको तल्लो तहमा उत्साह देखिएको छ ।


त्यस्तै, नियमावलीमा एउटै पदमा आठ वर्षसम्म रहेर अनिवार्य अवकाश पाएमा एसपीसम्मका प्रहरीले एक तह बढुवा पाउने प्रावधान थप गरिएको छ । त्यस्तै, प्रहरी परिचरको ग्रेड सिष्टम लागू गरिएको छ भने प्रहरी बढुवामा विभूषणको नम्बर पनि हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्