
काठमाडौं । कतिपय ठूला व्यापारी पैसाकै बलमा केन्द्रीय राजनीतिमा पुगेका छन् । उद्योगपति बिनोद चौधरी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । उमेश श्रेष्ठ हाल राज्यमन्त्री नै छन् । कांग्रेसको राजनीतिमा लागेको एक दशक नहुँदै उनी सांसद र मन्त्री भए ।
त्यस्तै व्यापारी मोतीलाल दुगड एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र व्यापारी बनेका छन् । पार्टीका पुराना नेताहरुलाई बिर्सिएर ओलीले उनै दुगडलाई राज्यमन्त्री, आर्थिक सल्लाहकार हुँदै हालै केन्द्रीय सदस्य बनाएका छन् ।
मेडिकल माफियाका रुपमा चिनिएका दुर्गा प्रसाईँ पनि हाल सक्रिय रुपमा एमाले राजनीतिमा लागेका छन् । उनले एमालेलाई ठूलो आर्थिक सहयोग गरेको बताइएको छ ।
पैसा र बलकै भरमा मन्त्री बनेर राजनीतिलाई दीपक मनाङेले बदनाम बनाइसकेका छन् । सत्ता परिवर्तनको खेलमा उनी तानातानमा परे र दुवै सरकारको पालामा उनी मन्त्री बनेका छन् । गुन्डागर्दी र विभिन्न अपराधिक घटनामा उनी १० पटकसम्म पक्राउ परेका थिए ।
क्रसर व्यवसायी र ठेकदारहरु पनि राजनीतिमा सफल हुँदै गएका छन् । राजनीतिको आडमा अवैध रुपमा प्राकृतिक स्रोतको दोहान गरेर पैसा कमाउने र त्यही पैसा बाँडेर उनीहरु माथिल्लो पदमा पुग्ने गरेका छन् ।
त्यहीकारण हरेक जसो जिल्लामा मिलेमतोमा प्राकृतिक खानीहरु सञ्चालन भइरहेका छन् । त्यस्तै समूहले सिडिओ र एसपीको सरुवा गर्दछन् ।














