Logo
Logo

विद्युतीय सवारीलाई प्राथमिकता दिन आग्रह


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ जेठ । आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय सवारीलाई प्राथमिकता दिन विभिन्न संघसंस्थाले सरकारलाई आग्रह गरेका छन् ।
नेपाल वातावरण पत्रकार समूह, स्वच्छ उर्जा नेपाल र नेपाल विद्युतीय परिवहन संघले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी यस्तो आग्रह गरेका हुन् ।
संसारका थुप्रै मुलुकले डिजेल र पेट्रोलका गाडीलाई विस्थापित गरेर विद्युतीय गाडीप्रति आकर्षित भएको उल्लेख गर्दै नेपाल विद्युतीय परिवहन संघका अध्यक्ष उमेशराज श्रेष्ठले नेपालले पनि विद्युतीय गाडीलाई प्राथमिकता राख्नुपर्ने बतए ।
उनले भने, ‘स्पष्ट भिजन, कार्यनीति र सोहीअनुरुप बजेट विनियोजन गर्ने हो भने अबको केही समयमै काठमाडौंलगाययत नेपालका विभिन्न ठाउँमा विद्युतीय सवारी सञ्चालन गर्न सकिन्छ ।’ अहिले साधारण डिजेल बसको तुलनामा विद्युतीय बस करिब पाँच गुणा महँगो हुने गरेको छ । सञ्चालन खर्च कम हुने भएपनि सरुवाती लागत एकदमै धेरै भएकाले बिजुली बस भित्रिन नसकेको उनीहरुको भनाइ छ । त्यसैले पनि सरकारले विद्युतीय बसलाई प्राथमिकता दिनुपर्ने ती संस्थाले जोड दिए ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने योजना बनाइरहेका बेला नेपाल दिनप्रतिदिन बढिरहेको वायु प्रदुषणले नकरात्मक असर पार्ने हुँदा त्यसलाई मध्यनजर गर्दै आगमी बजेटमा विद्युतीय सवारी खरिदमा रकम विनियोजन गर्न उनीहरुले सुझाव दिएका छन् ।
स्मरण रहोस्, नेकपाको सरकार गठन भएको नौ महिनामै ७० अर्बको पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधन भित्रिएको छ भने एक खर्बभन्दा बढीको पेट्रोलियम पर्दाथ भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्