काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई विदामा बसेर कार्यवाहक तोक्न सुझाव दिएका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले लामो समयदेखि अदालतमा देखिएको अवरोधबीच प्रधानन्यायाधीश विरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको हो ।

बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश विरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको जानकारी दिए ।
प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भएपछि अस्पतालमा भर्ना भएका छन् । जबरा विभिन्न विवादमा मुछिएपछि उनको राजीनामा माग्दै कानून व्यवसायीले आन्दोलन गर्दै आएका छन् ।
सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतका नेताहरु सहभागी थिए ।












