पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन लिङ्देनलाई « Drishti News – Nepalese News Portal
Logo
राप्रपाको महाधिवेशन

पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन लिङ्देनलाई


सन्तोष साह


काठमाडौं । राजसंस्थाको माग गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन काठमाडौंमा हुँदैछ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनबीच तीव्र प्रतिस्पर्धा रहेको छ । रापप्राको एकता महाधिवेशन जारी रहेकै बेला पूर्वराजा ज्ञानेन्द्र शाहले चासो र चिन्ता व्यक्त गरिरहेको खुलासा भएको छ ।

महाधिवेशनबाट नेतृत्वमा आउनका लागि थापा र लिङ्देन पुर्वराजा शाहलाई भेटेको स्रोतको दावी छ । अध्यक्षका दुबै उम्मेदवार पुर्वराजा शाहलाई भेटेको र मतदाता मार्फ उनीहरुले राजाको समर्थन आफूलाई नै भएको दावी गरिरहेका छन् ।

राजतन्त्रको माग गर्ने पार्टीको एकता महाधिवेशनबाट नेतृत्वको समेत चयन हुने भएकाले पुर्वराजा शाहले पनि ‘चनाखोपूर्वक महाधिवेशनलाई हेरिरहेको हुनसक्ने’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

तर, उनले यो उम्मेदवार हुनुपर्छ वा यसलाई जिताउनुपर्छ भन्ने चाहना नराखेको उनले दावी गरेका छन् । प्रवक्ता श्रेष्ठले भने, ‘राप्रपा भनेको यो देशमा घोषित रूपमा राजसंस्था चाहिन्छ भन्ने एउटा मात्र पार्टी भएको हुनाले राजाले यो महाधिवेशनलाई चनाखोपूर्वक हेरिरहनुभएको होला, तर राजाले यही उम्मेदवार हुनुपर्छ भन्ने चाहिँ भन्नु भएको छैन् ।’

राजसंस्था पुनःस्थापना हुनुपर्छ भनेर माग गर्ने पार्टीको महाधिवेशन भइरहेको बेला कुनै मान्छेका बीचमा राजाबाट नेतृत्वमा यही मान्छे हुुनुपर्छ भन्ने कुरा आउँन नसक्ने उनले बताए ।

‘यहाँ राजसंस्था पुनःस्थापना हुनुपर्छ भनेर माग गरिरहेको मान्छेहरूको बीचमा फलानो चाहिँ यो उम्मेदवार भन्दाखेरि त आफैँ कमजोर बन्ने कुरा हो । उहाँ (पूर्वराजा) को छेउछाउको मान्छेले आफ्नो व्यक्तिगत स्वार्थले भन्नुहोला, तर राजाबाट त्यस्तो कुरा हुनसक्दैन्’ प्रवक्ता श्रेष्ठले भने ।

अध्यक्षका दुबै उम्मेदवार राजाको समर्थन आफूलाई नै रहेको दावी गरिरहेका बेला उनले भने, ‘कुनै पनि हालतमा तँलाई मेरो समर्थन भन्ने, तँलाई छैन भन्ने कुरासम्मको स्थिति पनि छैन र त्यो हुँदा पनि होइन् ।’

अध्यक्षका उम्मेदवार लिङ्देनलाई समर्थन गरेका राप्रपाका एकजना अध्यक्ष प्रकाशचन्द्र लोहनीलाई निर्मल निवासले कमल थापाइतरको समूहलाई समर्थन गरेको र जिताउन चाहेको विषय महाधिवेशन स्थलमा चर्चा भइरहेको छ । तर प्रवक्ता श्रेष्ठले यसलाई बेकारको कुरा भन्दै आफूलाई त्यसबारेमा केही थाहा नभएको बताउँछन् ।

महाधिवेशनमा सहभागी एक प्रतिनिधिले राजतन्त्रको पक्षमा उभिएको प्रमुख दल भएकाले राप्रपाको महाधिवेशनप्रति निर्मल निवासको चासो र चिन्ता दुवै रहेको बताउँछन् । शाहले महाधिवेशनबाट चयन हुने नेतृत्वप्रति निकै चासो राखेको स्रोतको दावी छ ।

निर्मल निवास स्रोतका अनुसार महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी रहेका दुवै समूहका नेताहरूले छुट्टाछुट्टै रूपमा ज्ञानेन्द्र शाहलाई भेटेका थिए । भेटघाटका क्रममा शाहले दुवै पक्षलाई शुभेच्छा दिएको तर कसैलाई पनि समर्थन रहेको वा नरहेको नबताएको बताइएको छ ।

तर पूर्वराजपरिवारसँग निकट मानिने एक संस्थाका पदाधिकारीका अनुसार शाहले कमल थापाले ‘राजतन्त्रको नाममा राजनीतिक फाइदा लिँदै गणतन्त्रवादीसँग साठगाँठ गरेको’ भन्ने ठानेको जस्तो देखिएपनि त्यसलाई कतै व्यक्त गरेका छैनन् ।

त्यसैले कमल थापा र ज्ञानेन्द्र शाहबीच पनि बाहिर प्रचार गरिएजस्तो सम्बन्ध नचिसिएको तर निर्मल निवासले पुरानो पुस्ताभन्दा नयाँ पुस्ता अघि बढोस् भन्ने इच्छा राखेको हुनसक्ने ती पदाधिकारीले जनाएका छन् ।

अध्यक्षका प्रतिस्पर्धी थापा र लिङ्देन दुवैले कार्यकर्तामाझ आफूहरूलाई निर्मल निवासको समर्थन रहेको बताउँदै आएका छन् । राजाको समर्थन आफूलाई नै भएको भन्दै उनीहरुले महाधिवेशन प्रतिनिधिको मन जित्ने प्रयास गरेका छन् ।

तर कतिपयका विश्लेषणमा शाहले ‘पर्ख र हेर’को नीति पनि लिएका हुनसक्छन् । किनकि महाधिवेशनपछि आउने नेतृत्वसँग नै निर्मल निवासको पनि सहकार्य हुनसक्छ । यस्तै कतिपयले पूर्वराजा शाहले पछिल्लो समय राप्रपाका नेताहरूभन्दा राजसंस्था पुनः स्थापनाको माग लिएर अभियान चलाइरहेका अन्य समूहका नेताहरूलाई बढी भेट्ने गरेको बताउँछन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहका सचिव फणिराज पाठकले ‘शाहलाई समग्र देशको चिन्ता’ रहेको बताउँछन् । उनले भने, ‘समग्र देशको चिन्ता र चासो महाराजधिराजमा छ । राखिबक्सेको छ ।’

बुधवारबाट सुरु भएको राप्रपाको महाधिवेशन शुक्रवार सकिने कार्यतालिका छ । तर कतिपय जिल्लाका प्रतिनिधिबारे विवाद हुँदा चुनावी कार्यक्रममा ढिलाइ भइरहेको छ । राप्रपा र राप्रपा संयुक्तबीच २०७६ फागुनमा भएको एकतापश्चात पार्टीको यो पहिलो महाधिवेशन हो ।

राप्रपाले महाधिवेशनमा चार हजार जनाभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । महाधिवेशनबाट १४९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछ । बाँकी ५० जनालाई अध्यक्षले पार्टी विधानअनुसार केन्द्रीय सदस्यमा मनोनयन गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्