नेकपा एमाले र एकसिंगे गैंडा दुवै लोपोन्मुख « Drishti News – Nepalese News Portal
Logo

नेकपा एमाले र एकसिंगे गैंडा दुवै लोपोन्मुख


मिलन लिम्बू


– Milan Limbu

नीति निर्माणका लागि छुट्टै महाधिवेशन नेपालमा नौलो प्रयोग थियो । कम्युनिष्ट पार्टीहरुमा त्यसको सुरुवात नेकपा एमालेले पाँचौँ महाधिवेशनबाट गर्‍याे । तर, पछिल्लोपटक गोदावरीमा सम्पन्न विधान महाधिवेशन ओली सर्वसम्मत अध्यक्ष बन्ने प्रहसन थियो ।

गोदावरी मेला नीति निर्माणभन्दा ओलीलाई देवत्वकरणमा केन्द्रित थियो । जहाँ, नीतिको कुरा भएन केपी शर्मा ओलीको देवत्वकरणलाई संस्थागत गर्ने काम भयो । नारायणी तीरको मेला त्यसैको उत्कर्ष थियो ।

विधान महाधिवेशनले आगामी नेतृत्वबारे नीति बनाएको थियो । गोदावरीदेखि नारायणीसम्म पुग्दा त्यो नीति फगत सावित भयो । ओलीलाई ‘देव’ सावित गर्न गोदावरी तामझामको उत्पादन नारायणीमा बगाइयो ।

कम्युनिष्ट पार्टीहरुमा नेतृत्व निर्माणबारे बहस हुन्छ । नेतृत्व निर्माण शब्दका अनेक आयाम र प्रक्रियाहरु छन् । नेतृत्व निर्माणको अर्थ ‘देवत्वकरण’ होइन । तर, एमालेमा नेतृत्व निर्माणको नाममा देवत्वकरणलाई संस्थागत गर्ने काम भयो ।

कम्युनिष्ट पार्टीको संगठनात्मक संरचना जनवाद र केन्द्रियतामा आधारित हुन्छ । तर, एमालेमा जनवादको कल्पना छैन । विकृत केन्द्रियतामा आधारित अभ्यास हुन्छ । जहाँ, निहीत व्यक्तिलाई सिंगो पार्टी कमिटी घोषणा गर्ने सर्वाधिकार दिइन्छ ! जुन सीमाहीन सर्वाधिकार देव अर्थात ओलीले पाए । जनवादको अभ्यास गर्न भन्दै देशभरबाट भेला पारिएका भक्तहरु गैंडासँग फोटो खिचेर फर्के ।

विगतका महाधिवेशन एमालेजनको आँखामा झलझली छ । जहाँ, मिहीनरुपमा विचारको विमर्श भएको थियो । लोकतान्त्रिक प्रक्रियाबाट विधिसम्वत् नेतृत्व चुनिएको थियो । जननेता मदन भण्डारी स्वयं चुनावी मैदानमा उत्रेका थिए । त्यसैको जगमा एमालेले विशाल आकार ग्रहण गरेको सत्य हो । तर, आज एमाले आफैँले विघटनको यात्रा तय गरेको छ ।

लोकतान्त्रिक मुलुकहरुमा व्यक्ति केन्द्रित शासन अभ्यास असफल भइसक्यो । एक व्यक्ति सर्वाधिकार हुँदा ठूला–ठूला साम्राज्यहरु ढलेको इतिहास हेर्न टाढा जानु पर्दैन । आज एमालेले सोही बाटो रोजेको छ । सामुहिकतामा आधारित नेतृत्व प्रणाली आजको दुनियाँमा सबैभन्दा श्रेष्ठ प्रणाली हो । उक्त प्रणाली एमालेले अस्वीकार गर्नु विघटनको बाटो तय गर्नु हो ।

एमालेको विघटन यात्रामा दासहरुको भूमिका छ । ‘आधुनिक दासहरु’ले वर्चश्व कायम गर्दै गएका छन् । हिजो वैचारिक रुपमा बाघझैँ गर्जनेहरु आज सौराहाको मैदानमा दास भूमिकामा प्रस्तुत भए । उनै आधुनिक दासहरुको बलमा ओली विघटन यात्राको नेतृत्व गर्दैछन् ।

कम्युनिष्ट पार्टी विचार र सिद्धान्तका आधारमा संचालित हुन्छन् । विचार र सिद्धान्तका आधारमा नीति तथा कार्यक्रम तय गरेर कार्यान्वयन गर्ने काम नेतृत्वले गर्छ । तर, आज एमालेसँग न विचार छ न सिद्धान्त नै । नेतृत्वको रुपमा दासहरु छन् । जो मालिकले जसरी नचाउँछन्, त्यसरी नै नाच्छन् । यसले अधिनायकवाद जन्माउँछ । अधिनायकवादले पुर्‍याउने ठाउँ विघटन नै हो ।

जहाँ दासहरु हुन्छन् त्यहाँ अधिनायकवादबाहेक केही हुँदैन । किनकि, दासहरु कहिले पनि मालिकसँग प्रतिवाद गर्ने हिम्मत राख्दैनन् । एक्लौटी अधिकार प्रयोग गर्नेहरु अधिनायकवादीबाहेक केही हुँदैनन् । दासहरुले विद्रोह गर्ने आँट गरेमात्र अधिनायकवाद अन्त्य हुन्छ । र, समानतामा आधारित पहिचान स्थापित हुन्छ । तर, एमालेमा अधिनायकवादविरुद्ध विद्रोह कल्पना बाहिरको कुरा भयो । आफूलाई क्रान्तिकारी ठान्नेहरु १०औँ महाधिवेशनसम्म पुग्दा एकाएक दासमा रुपमा रुपान्तरण भए ।

दासत्वविरुद्ध ठूला–ठूला विद्रोह भएका छन् । नेपालकै सन्दर्भमा पनि दासत्व अन्त्यका लागि कुनै न कुनै रुपमा विद्रोह भएको छ ।दासत्वविरुद्धका धेरै विद्रोहरु सफल भएका छन् । जहाँ दासहरुबीच एकता थियो । दासहरु मिलेर दासत्वविरुद्ध गरिएको विद्रोह असफल भएको इतिहास छैन । तर, एक्लाएक्लै विद्रोह गर्दा सफलता मिलेको इतिहास कहीँ छैन । जसरी, भीम रावल र घनश्याम भुसालहरु दासत्वविरुद्धको विद्रोहमा पराजित भए ।

१०औँ महाधिवेशनमा एमालेले प्रयोग गरेको ‘गैंडाको मस्कट’ र एमालेमा मौलाएको दास मानसिकताबीच कुनै न कुनै समानता देखिन्छ । अर्थात, मालिकले जसरी हिँडायो, त्यसरी नै हिँड्ने । जसरी मस्कट मालिकले नसारेसम्म सर्दैन, त्यसरी नै दासहरु मालिकको चाहनाविना चलमल गर्न सक्दैनन् । त्यतिमात्र होइन, गैंडा र एमालेको भविष्यबीच पनि कुनै न कुनै रुपमा समानता छ । नेपालमा एकसिंगे गैंडा लोपोन्मुख जनावर हो । विचार, आदर्श र सिद्धान्तको दृष्टिकोणबाट एमाले पनि लोपोन्मुख कित्तामा पुगेको छ ।

कम्युनिष्ट आदर्श पात्रहरुमा सधैँ अनुग्रहित हुन्छन् । एमालेका आदर्शपात्र मार्क्स र लेनिन हुन् । किनकि, एमालेले आजसम्म मार्क्सवाद र लेलिनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ । त्यसपछि, पुष्पलाल र मदन भण्डारी एमालेका आदर्श हुन् । तर, एमाले विचार, आदर्श र सिद्धान्तबाट च्युत हुँदा मार्क्स, लेनिन वा पुष्पलाल र मदन छोडेर गैंडामा पुगेको छ । विस्तारै शिव र पार्वतीसम्म पुग्न अब एमालेलाई कसले छेक्ने ? कम्युनिष्ट विचलनको हद यो भन्दा हुँदैन ।

राजनीतिक दलका लागि महाधिवेशन सर्वोच्च निकाय हो । महाधिवेशनले नै भविष्यको यात्रा तय गर्छ । महाधिवेशनले तय गरेको यात्रामा नै राजनीतिक दलको भविष्य निर्भर हुन्छ । महाधिवेशनले अवलम्बन गर्ने नीतिको निर्देशनमा महाधिवेशनमार्फत निर्वाचित नेतृत्व अघि बढ्नुपर्ने हुन्छ । अनि मात्र सफलता मिल्छ । तर, एमालेको १०औँ महाधिवेशन त्यस्तो भएन ।

१०औँ महाधिवेशको सन्दर्भमा गरिएको विधान महाधिवेशनले उन्नत नीति निर्माण गर्न सकेन । नेतृत्व चयनका लागि गरिएको महाधिवेशनले आजको कम्युनिष्ट आन्दोलनलाई नेतृत्व प्रदान गर्नसक्ने नेता चुन्न सकेन । नीति र नेतृत्व निर्माण दुवै सवालमा एमाले असफल भयो ।

एमाले असफलताको असर एमाले एक्लैलाई मात्र पर्ने छैन । समग्र कम्युनिष्ट आन्दोलनले यसको मूल्य चुकाउनुपर्ने हुन्छ । एमालेसँगै हुर्केको देवत्वकरण र अधिनायकवाद भुसमा आगो सल्के जसरी अन्य कम्युनिष्ट शक्तिमा सल्किने खतरा छ । त्यसले समग्र कम्युनिष्ट आन्दोलनलाई नै विघटनकाे दिशामा लैजान सक्छ ।

Twitter @milanlimboo

प्रतिक्रिया दिनुहोस्