Logo
Logo

आइएनजिओकी एक युवतीः जसले फेसबुके साथीको मायामा एक करोड २२ लाख उडाइन्




काठमाडौं । संयुक्त राष्ट्रसंघसँग सम्बन्धित एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत काठमाडौंकी एक युवतीले फेसबुकमा चिनेकै भरमा एक विदेशी साथीलाई एक करोड २२ लाख रुपैयाँ उडाएकी छिन् । फेसबुके साथीलाई सहयोगका नाममा उनी ठगीएकी हुन् ।


डा. बेन्जामिन फ्रयाकिलन नामक ती ‘फेसबुके साथी’ले आफू बेलायतको ठूलो प्लास्टिक सर्जन डाक्टर भनेर परिचय दिएका थिए । बेलायतकै प्रभावशाली व्यक्ति भएको ठानेर उनी प्रभावित बनिन् । उनीहरूबीच अंग्रेजीमै नियमित च्याट हुन थाल्यो । त्यही क्रममा करिब दुई महिनाअघि बेन्जामिनले आफू मलेसियाको एक कार्यक्रममा आएको जानकारी गराए । त्यहाँ आफ्नो एटिएम कार्ड चोरिएको भन्दै उनले करिब २० हजार डलर पठाउन आग्रह गरे । त्यसका लागि नेपालकै एक व्यक्तिको बैंक खाता नम्बर दिए । बेलायत पुगेपछि आफूले त्यसको दोब्बर फर्काउने भन्दै उनले पैसा पठाएकोमा धन्यवाद दिए ।

बेन्जामिनले पटक–पटक आफू समस्यामा परेको भन्दै ती युवतीबाट एक करोड २२ लाख रुपैयाँ लिए । त्यतिले पनि नपुगेर आफू भारतमा रहेको र त्यहाँ पनि समस्यामा परेको भन्दै पछिल्लोपटक २५ लाख पठाइदिन आग्रह गरे । यसपटक उनले भारतमा आफ्ना साथीहरू रहेको र उनीहरूलाई सहयोग गर्न भनिदिने आश्वासन दिइन् । तर, उनले ‘हुन्न’ भन्दै पैसा नै पठाउन आग्रह गरिरहे । युवतीले भारतमा रहेका आफ्ना साथीहरूलाई फोन गरेर यसबारे बताइन् । भारतका साथीहरू भने– ‘एक रुपैयाँ पनि पैसा नपठाऊ, तिमी फेसबुक स्क्याममा प¥यौ ।’ त्यसपछि होसहवास उडेकी ती युवती उजुरी लिएर महानगरीय अपराध महाशाखा पुगेकी हुन् ।

महाशाखाले ठगीमा संलग्न गिरोहका तीनजना नेपालीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पैसा हाल्न प्रयोग गरिएका खाताधनी पोखराका राजेन्द्र भण्डारी र काठमाडौं ताहाचलका रोजन भुजेललाई प्रहरीले पक्राउ गरेको हो । भण्डारीको खाताबाट ७८ लाख तथा भुजेलमार्फत नौ लाख ५० हजार रुपैयाँ ती व्यक्तिले लिएका थिए । बाँकी ३४ लाख ५० हजार अन्य ६ जनाको खातामार्फत पीडितले दिएकी थिइन् । ती ६ जना व्यक्ति पक्राउ परिसकेका छैनन् ।

पोखराका भण्डारी पेसाले ठेकेदार हुन् । स्थानीय दानुमाया गुरुङको आग्रहमा आफूले सो पैसा उनलाई निकालेर दिएको बताएका छन् । गुरुङलाई पनि प्रहरीले बुधबार पोखरामा पक्राउ गरिसकेको छ । उनलाई पक्राउ गरेपछि ठगसम्म पुग्न सक्ने प्रहरी आकलन छ । उनले केही पैसा भारतमा पठाएको देखिएकाले गिरोहका नाइके विदेशमै भएको हुन सक्ने अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले बताए । त्यस्तै, काठमाडौंमा पक्राउ परेका व्यक्तिले पनि कसरी पैसा विदेश पठाए भन्नेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरूले हुन्डीमार्फत पठाएको हुन सक्ने प्रहरी आकलन छ । ‘पक्राउ परेका व्यक्तिको खाता मात्र प्रयोग भएको हो कि, उनीहरू नै मिलेका छन् भन्ने थप छानबिन गरिरहेका छौँ,’ एसपी पंगेनीले बताए ।

ठूलो आइएनजिओमा कार्यरत ती महिला यसरी सहजै ठगिएकोमा प्रहरी अधिकारीसमेत आश्चर्यमा परेका हुन् । ठगले दोब्बर पैसा दिने आश्वासनमा उनी लोभिएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँन् ।
फेसबुकका ती साथीसँग उनको फोनमा समेत कुरा भएको थिएन । एकपटक अडियो च्याटमा छोटो कुराकानी भएको उनले बताएकी छिन् । भिडियोमा पनि ती व्यक्ति कुरा गर्न चाहँदैन थिए । च्याटमा मात्र कुरा गर्दा पनि उनले शंका नगरी पटक–पटक पैसा पठाएको देखिन्छ ।
यस्ता किमिसका ठगी व्यापक रुपमा बढेको प्रहरीले जनाएको छ । त्यसमा धेरै जसो महिलाहरु पीडित हुने गरेका छन् । खासगरी यूरोपियन देशका युवकको नाममा खोलिएका फेसबुक आइडीबाट कुरा गरेर ठगी हुने गरेको छ । यसमा सहज हुन प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्