Logo

बस ठोक्किँदा एकको मृत्यु, ३० जना घाइते


- दृष्टि न्युज/संवाददाता


हेटौंडा, ४ जेठ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको हेटौँडा–३, बसामाडीमा दुईवटा बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । आज काठमाडौंबाट जनकपुर जाँदै गरेको ना ७ ख ९३६ नं को यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाडौं आउँदै गरेको ना ७ ख २०५७ नं को अर्को यात्रुबाहक बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा काठमाडौं आउँदै गरेको बसका चालक उदयपुर वरही गाउँपालिकाका ४० वर्षीय मानबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आफ्नै साइडबाट गइरहेको बसलाई विपरीत दिशाबाट उछिन्ने गरी आएको अर्को बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो । दुर्घटनामा सख्त घाइते ४० वर्षीय मगरको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो ।
अर्का बसको चालक भने फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइते तीन जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य घाइतेको हेटौँडामै उपचार भइरहेको र सामान्य घाइते प्राथमिक उपचारपछि घर फर्किएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्