Logo
Logo

‘लुम्बिनी क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय समुदायको साथको आवश्यकता’


- दृष्टि न्युज/संवाददाता


रुपन्देही, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारले चरणबद्ध रूपमा कार्यक्रम सञ्चालन गर्ने बताएक छन् । लुम्बिनीमा शनिबार आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले लुम्बिनीलाई ध्यान र ज्ञान क्षेत्रका रूपमा विकास गर्दै विश्व समुदायसँग अन्तर्राष्ट्रिय सम्मेलन गर्नेबारे छलफल भइरहेको बताए । उनले लुम्बिनी क्षेत्रको तीव्रतर विकासका लागि अन्तर्राष्ट्रिय समुदायको साथको आवश्यकता रहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले बुद्धस्थल कपिलवस्तुको तिलौराकोटलगायतका स्थलहरूलाई समान ढङ्गलाई विकास गर्दै लैजाने प्रतिबद्धता जनाए । उनले तिलौराकोटले विश्वसामु नयाँ तथ्य उजागर गरेकाले त्यसको विकास र प्रवद्र्धनका लागि नयाँ ढङ्गले योजना बनाउने बताए ।
कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकार र प्रदेश सरकारको साथले लुम्बिनीको विकास र विश्वव्यापी प्रवद्र्धन गर्ने बताए । बुद्ध जन्मस्थल लुम्बिनीको काम तीव्र गतिमा हुनुपर्ने उल्लेख गर्दै उहाँले अन्य बुद्धस्थलको समेत उत्खनन् र तथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिए । प्रदेशका पर्यटनमन्त्री लीला गिरीले प्रदेश नं ५ सरकारले लुम्बिनी क्षेत्रको प्रवद्र्धनका लागि भ्रमण वर्ष घोषणा गरेको र यसले प्रदेश समृद्ध बन्ने आधार तयार पार्न सहयोग पुग्ने बताए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले अबको तीन वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुने र त्यसपछि लुम्बिनीको मुहार परिवर्तन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्