Logo
Logo
राप्रपाको महाधिवेशन

बाजागाजा र नाचगानसहित मतदाता रिझाउँदै



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा नेतृत्व चयनका लागि शनिबार मतदान जारी रहेको छ । उम्मेदवारहरु मतदातासँग मत माग्नमा व्यस्त छन् । तर मत माग्ने शैली भने फरक छ ।

कोही नाच्दै मत मागरिरहेका छन् भने कोही पञ्चे बाजा बजाउँदै मत मागिरहेको दृश्य मतदान स्थल भृकुटीमण्डपमा देखिन्छ । अर्को तर्फ साउण्ड सिस्टममा गीत बजाउँदै नाचेर मतदातालाई रिझाउँने शैली पनि रोचक छ ।

एकता महाधिवेशनमा अध्यक्षका उम्मेदवारद्धय कमल थापा र राजेन्द्र लिङ्देनले पदाधिकारीमा प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । दुबैका समर्थकहरु सडकमै मत मागिरहेको दृश्य रोचक छ । मतदाता मत दिनका लागि लाइनमा बसेका थिए, उम्मेदवारका समर्थकहरु बाजागाजासहित मिठो गीत बजाउँदै मत माग्नमा व्यस्त रहेका थिए ।

भृकुटीमण्डपमा उम्मेदवारका ठूला पोष्टरहरु जताततै लगाइएको छ । सडकभरी उम्मेदवारका पर्चाहरु छरिएका छन् । भृकुटीमण्डपसंगै रहेको चिया पसल भरीभराउँ छ । भृकुटीमण्डपमै लागेको जुता मेलामा पनि राम्रौ भिडभाड रहेको छ । गाउँ–गाउँ, जिल्ला–जिल्लाबाट आएका कतिपय प्रतिनिधिले राम्रा राम्रा जुता छानीछानी किनिरहेको देखिन्छ ।

अर्को रमाइलो दृश्य भनेको नायिका समेत रहेकी महामन्त्रीका उम्मेदवार रेखा थापासँग सेल्फी खिच्नेको थियो । युवा त युवा बुढापाका उमेरका नेताहरु नेताहरु समेत थापासँग फोटो खिचाउँन तछाड मछाड गरिरहेका थिए । थापाका लागि ५-७ जना नायिका समेत मास्क लगाएर मत मागिरहेका थिए । प्रतिनिधिहरुसंग फोटो खिचाउँन उनीहरुलाई समेत भ्यानभ्याइ थियो ।

हालै चितवनमा एमालेको १०औं महाधिवेशन सम्पन्न भएको छ । तर चितवनभन्द फरक दृश्य भृकुटीमण्डपमा देखिन्छ । चितवनमा एमालेका करिब दुई हजार प्रतिनिधि सहभागी थिए भने राप्रपाको महाधिवेशनमा चार हजार भन्दा बढी प्रतिनिधि सहभागी छन् । उम्मेदवारका प्रचार शैलीदेखि मत माग्ने शैली एमालेको भन्दा राप्रपामा फरक छ । चुनावी माहौल चिसोको मौसममा पुरै तातेको देखिन्छ ।

राप्रपा नेता भुवन पाठकका अनुसार थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान उपाध्यक्षको उम्मेदवार छन् । यस्तै महिला उपाध्यक्षमा रोशनी कार्की उम्मेदवार रहेकी छन् । महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही रहेका छन् ।

यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको रहेका छन् । महामन्त्रीमा डा.धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको उम्मेदवारी परेको छ ।

विक्रम पाण्डेको नाम भने दुबै समूहले आफ्नो प्यानलमा राखेका छन् । यस विषयमा पाठकले आफूहरुले टुंगो लगाएको सूची यही भएको र अर्को प्यानलमा राखे नराखेको बारे आफूलाई थाहा नभएको बताए ।

राजसंस्थाको माग गर्ने राप्रपाको एकता महाधिवेशन काठमाडौंमा चर्को प्रतिस्पर्धा छ । अध्यक्षमा थापा र लिङ्देनबीच तीव्र प्रतिस्पर्धा रहेको छ । रापप्राको एकता महाधिवेशन जारी रहेकै बेला पूर्वराजा ज्ञानेन्द्र शाहले चासो र चिन्ता व्यक्त गरिरहेको खुलासा समेत भएको छ ।

बुधवारबाट सुरु भएको राप्रपाको महाधिवेशन शुक्रवार सकिने कार्यतालिका थियो । तर कतिपय जिल्लाका प्रतिनिधिबारे विवाद हुँदा चुनावी कार्यक्रममा परिवर्तन भएको हो । राप्रपा र राप्रपा संयुक्तबीच २०७६ फागुनमा भएको एकतापश्चात पार्टीको यो पहिलो महाधिवेशन हो ।

राप्रपाले महाधिवेशनमा चार हजार जनाभन्दा बढी प्रतिनिधिको सहभागिता रहेका छन् । महाधिवेशनबाट १४९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछ । बाँकी ५० जनालाई अध्यक्षले पार्टी विधानअनुसार केन्द्रीय सदस्यमा मनोनयन गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्