Logo
Logo

अबको विकास गाउँकेन्द्रित : महानगर प्रमुख दाहाल



चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अबको विकास गाउँकेन्द्रित हुनु पर्ने बताउनु भएको छ । पटिहानी आयुर्वेद औषधालय भवन शिलान्यास समारोहलाई आज आइतबार भरतपुर महानगरपालिका २२ मधुपुरीमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, खेल लगायतका क्षेत्रमा विकासलाई प्रथमिकता दिएको बताउँदै महानगर प्रमुख दाहालले विकास हेर्न चाहनेले पश्चिम चितवनलाई हेर्न आग्रह गर्नुभयो । उहाँले गाउँको विकासलाई लक्षित गरी काम अगाडि बढाइएको र वडाध्यक्षहरु समेत खुशी भएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफू पनि गाउँकै भएकोले गाउँको विकासलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।


साइड इफेक्ट नहुने स्वास्थ्य पद्धति आयुर्वेदको सेवा प्रवाह भरपर्दो भएकोले यसप्रति जनताको विश्वास बढेको उहाँको भनाइ थियो । ‘भरतपुर मेडिकल हब बनेको छ’ उहाँले भन्नुभयो, ‘भरतपुर अस्पताल केन्द्रीय अस्पतालमा पर्न सफल भएको छ । क्यान्सर अस्पतालले दक्षिण एसियास्तरीय सेवा दिएको छ । यसलाई प्रतिष्ठान बनाउने प्रक्रिया अघि बढाइने छ ।’ महानगर प्रमुख दाहालले रिङरोड, सडक, महिला महाविद्यालय, इन्जिनियरिङ कलेज, प्रहरी स्कुल, क्रिकेट रङ्गशाला, सिटी हल आदि योजनाले शहरलाई व्यवस्थित र गाउँलाई थप विकसित बनाउँदै लगेको बताउनु भयो ।
भनपा २२, पटिहानी पदमपोखरीमा पटिहानी आयुर्वेदिक औषधालयको सुविधासम्पन्न आयुर्वेदिक भवन नेपाल सरकारको एक करोड ७८ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माण हुने बताइएको छ । आयुर्वेेदिक अस्पताल निर्माण कार्य सम्पन्न भएसंगै यस भेगका जनताले प्रभावकारी स्वास्थ्य सेवा पाउने महानगरपालिका प्रमुख दाहालले विश्वास व्यक्त गर्नुभयो । आफूले सिटी हल पश्चिम चितवनमा बनाउन कोशिस गरेको तर सिटीहल गाउँमा दैनिक कार्य सञ्चालनमा नहुने र आयसँग नजोडिने भएकोले शहरमा निर्माण गर्न लागिएको उहाँले बताउनु भयो ।
भरतपुर महानगरपालिका देशकै केन्द्रीय भागमा भएकोले पनि यहाँ मेडिकल हब र शैक्षिक हब बनाउन लागिएको महानगर प्रमुख दाहालको भनाइ छ । स्मार्ट सिटीका लागि आवश्यक पूर्वाधार तयार गरिँदै लगिएको महानगर प्रमुख दाहालले बताउनु भयो । उहाँले पश्चिम चितवनमै क्रिकेट रङ्गशाला, महिला प्राविधिक शिक्षालय, प्रहरी विद्यालय निर्माण गर्न लागिएको जानकारी गराउनु भयो ।
पटिहानी आयुर्वेदिक औषधालय व्यवस्थापन समितिका अध्यक्ष तथा भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा वडा नम्बर २१ का अध्यक्ष चित्रसेन अधिकारी र वडा नम्बर २३ का अध्यक्ष नरिनारायण पौडेलले शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्