Logo
Logo

पोर्चुगलमा मनाइयो बुद्धजयन्ती (फोटो फिचरसहित)


- दृष्टि न्युज/संवाददाता



लिस्बन, ५ जेठ । युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बन शनिबार बुद्धमय बन्यो । विश्व शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको २५६३औँ जन्मजयन्तीको अवसर पारेर नेपाली अवैतनिक वाणिज्यदूतको कार्यालय र नेपाली संघसंस्थाको सक्रियतामा यहाँ आयोजित वृहत् शोभायात्राले लिस्बन शहर बुद्धमय बनेको हो ।


बुद्धको मूर्ति, बुद्ध अंकित तस्वीर, बुद्धवाणी र दिव्य उपदेश लिखित प्लेकार्ड, ब्यानर र नेपालको राष्ट्रिय झण्डासहित तामझामका साथ नेपाली वेशभूषामा सजिएका नेपाली समुदायले यहाँको मुख्य पर्यटकीय शहरलाई बुद्धमय बनाएका हुन् । रोसियोस्थित समुद्र किनारबाट शुरु भएको शोभायात्रा मुख्य पर्यटकीय क्षेत्रको परिक्रमापश्चात मार्तिम मोनिज पार्कमा आएर समापन भएको थियो ।
शोभायात्रामा बुद्ध वचनका साथै बुद्धम् शरणम् गच्छामी, धम्मं शरणम् गच्छामी, संघम् शरणम् गच्छामीलगायत बुद्धका शान्ति सन्देश प्रवाहित गरिएको थियो ।


यस्तै बुद्ध नेपालमा जन्मेका हुन्, बुद्ध शान्तिका प्रतीक हुन्, नेपाल भ्रमण गरौँजस्ता बुद्धभूमि नेपालको प्रचारमूलक सन्देश प्रवाह गरिएको थियो । शोभायात्रामा बौद्ध अनुयायीलगायत पोर्चुगलमा रहेका नेपालीको उल्लेख्य सहभागिता रहेको थियो ।
शोभा यात्रापछि मार्तिम मुनिज पार्कमा आयोजित कार्यक्रममा बोल्दै बुद्धजयन्ती मूल समारोह समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली वाणिज्यदूत मकरबहादुर हमालले बुद्धका ज्ञान, दर्शन र उपदेश विश्वसामु र्पुयाउनु सबै नेपालीको दायित्व रहेको बताए ।
शोभायात्रामार्फत विदेशीलाई बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिइएको र बुद्धभूमि नेपालको प्रचारप्रसार गरिएको वाणिज्यदूत हमालको भनाइ थियो । पोर्चुगलका लागि नेपाली पर्यटनदूत रमेशकुमार गुरुङले बुद्धभूमि नेपालको पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष कुवेर कार्की, नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पाले बुद्धको सन्देशमाथि प्रकाश पार्नुभएको थियो । यसअघि रोसियोस्थित काजा दि लाफोइसको हलमा धर्मगुरुद्वारा बुद्धको पूजाआराधना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्