Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

‘आफू लड्ने कि देउवालाई समर्थन गर्ने’ भन्ने परामर्शमा सिटौला



काठमाडौं । नेपाली कांग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा सभापतिका लागि साझा उम्मेदवार खोजी भइरहेको छ । यसैबेला पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफू निकटका नेताहरुको बैठक बोलाएका छन् ।

शुक्रबार काठमाडौंमा सुरु हुने १४औँ महाधिवेशनबारे रणनीति बनाउन सिटौला पक्षको बैठक बोलाइएको जनाइएको छ । गौशालास्थित सम्पर्क कार्यालयमा बिहीबार दिउँसो बस्ने बैठकमा छुट्टै प्यानल बनाउने वा कुन पक्षसँग सहकार्य गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरु उमाकान्त चौधरी, प्रदीप पौडेल, शिवप्रसाद हुमागाईं, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, भ्रातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी एवं महाधिवेशन प्रतिनिधिहरुलाई बोलाइएको छ ।

पूर्वमहामन्त्री सिटौलाले १३औँ महाधिवेशनमा सभापतिमा पराजित भएसँगै आफ्नो अलग्गै समूह बनाएका थिए । यस १४औँ महाधिवेशनमा सभापतिमै उम्मेदवारी दिने वा सम्मानजनक सहभागिता सुनिश्चित गरेर देउवासँग मिलेर अगाडि बढ्ने भन्ने निष्कर्ष गर्ने बताइएको छ ।
यसअघि अर्थात बुधबार पौडेल समूहले सिटौलालाई सभापतिको साझा उम्मेदवारी बनाउने कि भन्ने समेत छलफल भएको थियो । तर, उक्त छलफलमा सिटौला सहभागी नभएपछि नेता पौडेलले उनकै निवासमा पुगेर भेटेका थिए ।

यस महाधिवेशनमा संस्थापन इतरका नेताहरु सभापतिमा साझा उम्मेदवारी बनाउनेबारे केही दिनयता छलफल भइरहेको छ । तर उनीहरु निष्कर्षमा पुग्न सकेका छैनन् ।

वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले भने ‘देउवाको विकल्प नभएको’ बताउँदै आएका छन् । देउवा पक्षका एक नेतालले भने, ‘सभापतिमा देउवाको विकल्प छैन । यो अन्तिम कार्यकाल भएकाले पनि सर्वसम्मतले देउवालाई छाड्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्