Logo
Logo

मानवअधिकार सम्वद्र्धनमा सबै क्षेत्रको योगदान आवश्यक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ जेठ । सरोकारवाला विज्ञहरुले मानवअधिकारको संरक्षण र संवद्र्धनका लागि सबै क्षेत्रको योगदान आवश्यक रहेको बताएका छन् ।
काठमाडौँ जेसिजको ‘जेसिज सप्ताह–२०७६’का सन्दर्भमा आयोजित ‘व्यापार र मानवअधिकार’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीले व्यापार क्षेत्रले पनि मानव अधिकारका लागि महत्वपूर्ण योगदान दिनसक्ने उल्लेख गरे ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले नेपालमा मानव अधिकारको क्षेत्र फराकिलो बन्दै गएको भन्दै व्यापार क्षेत्रले व्यावसायिक लाभमात्रै नहेरेर मानव अधिकारको विषयलाई पनि सम्बोधन गर्नुपर्ने बताए ।
पूर्वराजदूत शम्भुराम सिम्खडाले विश्वभर मानव अधिकारको विषय पेचिलो बन्दै गएकोले हरेक क्षेत्रमा मानवता प्रदर्शन हुन आवश्यक रहेको धारणा व्यक्त गरे । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव निर्मला अधिकारीले मानवअधिकार सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनको हरेक व्यक्ति, संस्था र प्रतिष्ठानले सम्मान गर्नुपर्नेमा जोड दिए ।
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले मानव अधिकारप्रति व्यवसायी गम्भीर रहेको बताए । कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका टेक टमाटाले विश्वभर व्यवसाय र मानव अधिकारलाई एकैसाथ अगाडि बढाउन भएका प्रयासबारे अवगत गराएका थिए ।
काठमाडौँ जेसिजका अध्यक्ष जेसी भुवनकुमार श्रेष्ठले जेसिज सप्ताहको समापनका अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रम र बहसबाट सहभागी लाभावन्वित भएको बताए । काठमाडौँ जेसिजले यो वर्ष स्वर्णमहोत्सव विविध कार्यक्रम गरी मनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्