Logo
Logo

उपभोक्ता नै लगाउँछन् जंगलमा आगो


- दृष्टि न्युज/संवाददाता


डडेल्धुरा, ६ जेठ । डडेल्धुराका सामुदायिक वनमा आगो लाग्नेक्रम सुरु भएको छ । सुक्खायाम र गर्मी बढेसँगै जिल्लाका करीब दर्जनभन्दा बढी सामुदायिक र सल्लेरी वनमा आगो लाग्ने गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।
जिल्लाका त्रिशूल, असुर्पा, अजयमेरु, भद्रपुर र कैलपालमाण्डौँका सामुदायिक वनमा र अमरगढी नगरपालिका– १० राई बस्ती नजिकको वनका साथै महाभारत र चुरे वन क्षेत्रमा समेत आगो लाग्ने गरेको छ ।
साथै जिल्लाका अन्य सामुदायिक तथा सरकारी वनमा समेत आगो लाग्ने गरेको वनमा आबद्ध पदाधिकारी बताउँछन् । स्थानीय उपभोक्ताको लापरवाहीका कारण जंगलमा बढी आगलागी हुने गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत प्रकाश जोशीले बताउँछन् । उनी भन्छन्, ‘चुरोट, बिँडी खाएर जथाभावी फाल्ने तथा अन्य लापर्वाहीले वनमा आगलागी हुने गर्छ ।’ नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ता आफैँ आगो लगाउने गर्दछन् । निजी खोरिया, गजाल (घास काट्नका लागि बनाइएको क्षेत्र) मा उपभोक्ताले नयाँ घाँसका लागि आगो लागाउने र त्यही आगो सुक्खायाममा नियन्त्रमा ल्याउन नसक्दा अन्य वनसमेत विनाश हुने गर्दछन् ।
गाईगोरु चराउन सजिलो हुने भन्दै सल्लेरी वनमा उपभोक्ताले नै आगो लगाउँछन् तर अत्यधिक स्याउला र सोत्तरका कारण आगो नियन्त्रण गर्न नसक्दा वन विनाश हुने गर्दछ । आगो लाग्दा भिरालो र घना जंगलका स्याउला, सोत्तर र हावाका कारण फैलने भएकाले अन्य वन पनि विनाश हुँदै आएको छ ।
सुक्खायाममा सल्लेरी वनमा आगो लगाउनेक्रम स्थानीय बासिन्दाबाटै बढी हुने गरेको तथ्य फेला परेको यसबारे जनचेतना जगाउँदा पनि सार्थकरूप लिन नसेको रेञ्जर धनबहादुर झुकालको भनाइ छ । आगलागीका कारण साना बुट्यान र नयाँ बिरुवासमेत विनाश हुन्छ ।
जिल्लामा करीब ६०० सामुदायिक र कबुलियती वन छन् । हरेक वर्ष गर्मीयाममा जिल्लाका प्रायजसो सल्लेरी वन र अन्य वनमा आगलागीका कारण वन विनाश हँुदै आएको छ । जिल्ला वन कार्यालयका अनुसार एक लाख ५३ हजार आठ हेक्टर जमीनमध्ये एक लाख १५ हजार १५९ हेक्टर वन जंगल रहेको छ । वर्षेनी यहाँका ५० प्रतिशतभन्दा बढी वनमा आगो लाग्ने गर्दछ । रासस

प्रतिक्रिया दिनुहोस्