Logo
Logo
कांग्रेसको १४औं महाधिवेश

दुई महामन्त्री पदका लागि १२ जना आकांक्षी



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन एकदिन मात्रै बाँकी छ । नेतृत्व चयनका लागि उम्मेदवारका आकांक्षीहरुको दौडधुप बढेको छ । उम्मेदवारहरु प्रतिनिधिलाई रिझाउँन व्यस्त देखिन्छन् ।

भोलि (शुक्रबार)देखि सुरु हुने महाधिवेशनमा विभिन्न पदका आकांक्षीहरु धेरै देखिएका छन् । सभापतिका लागि शीर्ष नेताहरुका बीचमा रस्साकस्सी चलिरहेको छ । यता दोस्रो तहका नेताहरुबीच महामन्त्री हुनका लागि दौडधुप बढेको छ ।

यसपटक सबैभन्दा बढी महामन्त्रीका आकांक्षी देखिएका छन् । दुई महामन्त्रीका लागि १२ जनाभन्दा बढी आकांक्षीहरू छन् । दुवै महामन्त्री निर्वाचित हुनुपर्ने छ ।

पछिल्लो पटक संशोधन गरिएको विधानमा सभापतिसहित १४ पदाधिकारीको व्यवस्था छ  । जसमा दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र कोषाध्यक्ष हुनेछन् । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुनुपर्ने व्यवस्था कांग्रेसको विधानमा छ । यो व्यवस्था यसै महाधिवेशनबाट कार्यान्वयनमा आउन लागेको हो ।

यसअघि एक महामन्त्री निर्वाचित हुने र अर्को मनोनित गरिने व्यवस्था थियो । १३औं महाधिवेशनमा डा. शशांक कोइराला निर्वाचित महामन्त्री हुन् भने पूर्णबहादुर खड्का मनोनित ।

कांग्रेसमा यसपालि सबैभन्दा रोचक प्रतिष्पर्धा महामन्त्री पदका लागि देखिएको छ । युवा नेताहरू महामन्त्रीका लागि आमनेसामने हुन तयार भएका छन् । यसपटक शेरबहादुर देउवा र वरिष्ठ नेत रामचन्द्र पौडेल दुबै पक्षमा युवा नेता नै महामन्त्री पदका लागि बढी आकांक्षी छन् ।
सभापति देउवा पक्षबाट प्रवक्ता विश्वप्रकाश शर्मा, सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक र एनपी साउद गरी ६ जना महामन्त्रीका आकांक्षी छन् ।

संस्थापन इतर अथार्त पौडेल पक्षबाट गगन थापा, चन्द्र भण्डारी, मीनेन्द्र रिजाल, धनराज गुरुङ, बद्री पाण्डे र प्रदीप पौडेलले महामन्त्री ताक्दै आएका छन् । तेस्रो समूहको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलामा भने महामन्त्रीको दाबी गर्ने खासै देखिएका छैनन् ।

अहिलेसम्म दुवै समूहबाट को–को महामन्त्रीमा उठ्ने भनेर टुंगो लागिसकेको छैन । सबैले आ–आफ्नो दाबी कायम नै राखेका छन् । उनीहरु एकले अर्कालाई सहमति गर्ने पक्षमा समेत देखिएका छैनन् । महामन्त्रीको आंकांक्षी धेरै भएपनि सभापति देउवा र वरिष्ट नेता पौडेललाई मिलाउन सकस परेको छ ।

देउवा समूहका नेता विश्वप्रकाशले केही महिनाअघि नै नीतिसहित नेतृत्वको दाबेदारी पेश गरिसकेका छन् । संस्थापन पक्षका अन्य नेताहरुलाई उछिनेर प्रचारप्रसार प्रमुखको जिम्मेवारी पाएका शर्मालाई देउवाले सहमहामन्त्रीमा उम्मेदवारी दिन आग्रह गरे पनि उनी मान्न तयार छैनन् ।

१३औं महाधिवेशनमा सिटौला समुहबाट महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापा अहिले पौडेल समुहबाट उम्मेदवार बनेका छन् । १३औं महाधिवेशनमा उनी डा. शशांक कोइरालाबाट पराजित भएका थिए ।

गगन, विश्वप्रकाशका साथै प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, एनपी साउद चन्द्र भण्डारी, मीनेन्द्र रिजाल, धनराज गुरुङ, बद्री पाण्डे र प्रदीप पौडेलले महामन्त्रीका लागि प्रचार प्रसारमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्