Logo
Logo

हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्दै

पार्टीको नाम ‘जनता प्रगतिशील पार्टी नेपाल’



काठमाडौं । पुर्वमन्त्री एवं सांसद हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्दैछन् । त्रिपाठीले आफ्नो पार्टीको नाम ‘जनता प्रगतिशील पार्टी नेपाल’ राखेका छन् ।

मंसिर २८ गते काठमाडौंमा एक कार्यक्रमका बीचमा नयाँ पार्टीको घोषणा गरिने त्रिपाठीले दृष्टिन्युजलाई बताए । नयाँ पार्टीमा बिभिन्न पार्टीबाट असन्तुष्ट नेताहरु समेत सहभागि हुने उनले बताए ।

जनता प्रगतिशील पार्टी नेपालको अध्यक्ष त्रिपाठी आफै हुने र अन्य पदाधिकारी तथा सदस्यको बारेमा आन्तरिक गृहकार्य जारी रहेको उनले बताए ।

‘बिभिन्न पार्टीका नेताहरुसंग छलफल भईरहेको छ । धेरै साथीहरु नयाँ पार्टीमा आउँनका लागि इच्छा राख्नुभएको छ । सबैसंग कुराकानी गरेर पदाधिकारी तथा सदस्यहरु टुंगो लगाउँने गृहकार्यमा छु’ त्रिपाठीले भने ।

तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट अलग भएर स्वतन्त्र राजनीतिक समुह गठन गरेका त्रिपाठी नेकपा (एमाले) संग गठनबन्धन गरेर सुर्य चुनाव चिन्हबाट गत निर्वाचनमा सांसदमा निर्वाचित भएका थिए ।

‘मंसिर २८ गते जनता प्रगतिशील पार्टी नेपालको घोषणा हुन्छ । त्यसको संयोजक म आफै हुन्छ । अन्य पदाधिकारी तथा सदस्यहरु पछि विस्तार गर्नेछु’ त्रिपाठीले भने ।

गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका उनी लगायत नेताहरुले एमालेको सूर्य चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लडेका थिए । प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता विजयी बनेका थिए भने एकजनाले प्रदेशसभामा चुनाव जितेका छन् ।

तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता रहेका त्रिपाठी सदभावना परिषदबाट राजनीतिमा सक्रिय थिए । राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव, महेन्द्र यादव नेतृत्वको छुटाछुटै दलहरुका बीचमा पार्टी एकीकरण भएर राजपा घोषणा भएपछि त्रिपाठीको मर्यादाक्रम मिलेको थिएन् ।

त्रिपाठी भन्दा जुनियर नेताको मर्यादाक्रम माथि र उनको तलभएकोमा उनले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । मर्यादाक्रमका साथै अन्य धेरै बिषयमा असन्तुष्ट त्रिपाठी स्वतन्त्र राजनीतिक समूह गठन गर्न बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्