Logo
Logo

प्रधानन्यायाधीश जबराको राजिनामा माग्दै विभिन्न जिल्लामा प्रदर्शन



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन शुक्रबार मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाको आयोजनामा प्रधानन्यायाधीश जबराको राजिनामा माग गर्दै धर्ना प्रदर्शन गरेको हो ।

मानव अधिकार संरक्षणका लागि स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालय अत्यावश्यक भएको र अनैतिक प्रधान न्यायाधीश पदमा रहिरहनु आपत्तिजनक भएको भन्दै प्रधानन्यायाधीश जबराले शिघ्र राजिनामा दिनुपर्ने, राजिनामा नदिए बहिर्गमनका लागि महाभियोग लगाउन पनि शान्ति समाजले सम्वद्ध सबै दलहरुलाई आग्रह गरेको छ ।

धर्नामा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रधानन्यायाधीशको कुकर्मले लोकतन्त्रको उपहास गरेको र यस्तो संवेदनशील विषयमा दलहरु मौन रहनु दलहरुको कमजोरी भएको बताए ।

कार्यक्रममा शान्ति समाजका सल्लाहकार एवं पूर्वसभापति अधिवक्ता होमकान्त चौलागाईले मानव अधिकारको संरक्षणका लागि अन्तिम निकायको रुपमा रहेको सम्मानित सर्वोच्च अदालतको नेतृत्वमा हाल विचलन आएकोले प्रधानन्यायाधीश जबराको शिघ्र बहिर्गमन आवश्यक भएको बताए ।

समाजका सल्लाहकार एवं पूर्वसभापति उत्तम पुडासैनीले न्यायालयमा भएको राजनीतिक नियुक्ति, न्यायीक विचलन आदीका कारण न्याय क्षेत्र प्रदुषित भएको भन्दै न्यायालय शुद्धिकरणका लागि प्रधानन्यायाधीश जबराको बहिर्गमन आवश्यक भएको धारणा व्यक्त गरे ।

धर्ना प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनाल, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराल, सचिव नम्रता खरेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु किरण ढकाल, उमा गौतम, काठमाण्डौ शाखा का.वा. सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु बटुकृष्ण ढुंगेल, ईश्वर पुडासैनी, प्रमोद फुयाल लगायतको सहभागिता थियो ।

यसैगरी मानव अधिकार दिवसकै अवसरमा पारेर प्रधानन्यायाधीश जबराको राजिनामा माग्दै शान्ति समाजका चितवन, दाङ, संखुवासभा, महोत्तरी, रुपन्देही, नवलपुर, तेह्रथुमलगायत शाखाहरुले पनि प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्