Logo
Logo

चिनीमा लुटैलुट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । उपभोक्ताहरु प्रतिकिलो बढीमा ६० रुपैयाँमा पाइने चिनीको ८० रुपैयाँसम्म तिर्न बाध्य छन् । प्रतिकिलो २० रुपैयाँ बढी तिरेर चिनी किन्न उपभोक्ताहरुलाई बाध्य पार्ने काम सरकारले गरेको छ । गएको भदौदेखि चिनी आयातमा रोक लगाउने सरकारको निर्णयपछि उपभोक्ताहरुले प्रतिकिलो २० रुपैयाँ बढी तिर्नुपरेको हो । नेपालमा बार्षिक ३ लाख मेट्रिक टन चिनी खपत हुन्छ । स्वदेशी उद्योगले बार्षिक १ लाख २० हजार टन चिनीमात्र उत्पादन गरेको तथ्यांक दिने गरेका छन् । नेपालमा १ लाख ८० हजार मेट्रिक टन चिनी आयात गर्नुपर्ने हुन्छ । तर चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालसहितको समूहले स्वदेशी चिनी बिक्री नभएको भन्दै प्रधानमन्त्री ओलीलाई भ्रमजालमा पारे । त्यतिमात्र होइन, आयातित चिनीसँग स्वदेशी चिनी उद्योगले प्रतिस्पर्धा गर्न नसकेको भन्दै प्रधानमन्त्रीलाई भ्रमित पारी उनीहरुले चिनी आयात रोके । अग्रवाल जस्ता चिनी माफियाको प्रभावमा परी सरकारले चिनी आयातमा रोक लगाएपछि नेपाली बजारमा चिनी महंगो हुन गएको हो । चिनीको मूल्य अस्वभाविक रुपमा बढेपछि प्रधानमन्त्री केपी ओलीले चिनी उद्योगीहरुको गलत सल्लाहमा फसेको अभिब्यक्ति दिएका थिए । चिनी उद्योगले एकातिर सरकारलाई दबाब दिएर चिनी आयातमा रोक लगाउन लगाएका छन् भने अर्कोतिर ऊखु किसानको भुक्तानी २ बर्षदेखि दिएका छैनन् । जसका कारण ऊखु खेती गर्ने किसानहरु अन्य खेतीतर्फ लाग्न बाध्य भएका छन् । चिनी उद्योगले भुक्तानी नदिएपछि यो बर्ष किसानको ऊखु खेतमै सुकेर खेर गएको छ । पहिलाको भुक्तानी नदिएसम्म ऊखु नदिने अडान किसानले राखे । उद्योगले पहिलाको भुक्तानी दिएर ऊखु खरिद नगरेपछि खेतमै सुकेको छ ।

नेपालमा १ लाख २० हजार टन चिनी उत्पादन हुने तथ्यांक चिनी उद्योग संघले दिएको हो । तर ऊखु किसानलाई भुक्तानी नै नदिने चिनी उद्योगहरुले गर्दा खेतीप्रति नै विकर्षित हुँदै गएकाले यो तथ्यांक यथार्थ नभएको स्रोतको भनाइ छ । नेपालका चिनी उद्योगले खुला सिमानाको फाइदा उठाएर भारतबाट तस्करीको चिनी ल्याउँदै नेपाली ट्याग लगाएर बिक्री गर्ने गरेका छन् । र, त्यही तस्करीको चिनी आफ्नो उत्पादन भनी बिक्री गर्ने र नेपालमा उत्पादन भएको तथ्यांक दिने गरेका छन् । स्रोतका अनुसार सरकारले ऊखु खरिद र चिनी उत्पादनको अभिलेख सबै उद्योगको भिडाएर हेर्ने हो भने तस्करीको चिनी ल्याएर बिक्री गरेको पर्दाफास हुनेछ । भारतबाट भन्सारछलीको सस्तो चिनी ल्याएर नेपाली उत्पादन भनी प्रतिकिलो २० रुपैयाँ बढीमा बिक्री गरी नेपाली उपभोक्तालाई लुट्ने छुट सरकारले दिएको छ । भारतबाट तस्करीको चिनी सबैभन्दा बढी ल्याएर बिक्री गर्ने शशीकान्त अग्रवालकै एभरेष्ट सुगर मिल हो । त्यसपछि अरु मिलले पनि उनको सिको गर्दै तस्करीको चिनी सस्तोमा ल्याउने र नेपाली उत्पादन भन्दै बिक्री गर्दैआएका छन् । विगतमा त्यही तस्करीको चिनीमा ट्याग लगाएर बिक्री गरी अग्रवालसहितका चिनी उद्योगले ६ अर्ब रुपैयाँ भ्याटफिर्ता लिएर लुट मच्चाएका थिए । चालु आर्थिक बर्षमा भ्याटफिर्ता नदिने निर्णय सरकारले गरेपछि अग्रवालहरुको समूहमा बज्रपात परेको छ । र, उनीहरु चिनी उद्योगमा अनुदान माग्दैआएका छन् । अनुदान नदिने भनेपछि चिनी आयातमा रोक लगाएर भारतबाट तस्करीको चिनी नेपालमा ल्याउने र खुरुखुरु ट्याग लगाउँदै स्वदेशी उत्पादन भनेर बिक्री गर्दैआएका छन् । प्रतिकिलो थोक २० देखि २५ रुपैयाँ मुनाफा लिएर लुट मच्चाइरहेका छन् ।

पाकिस्तानले नेपाललाई प्रतिमेट्रिक टन ३ सय अमेरिकी डलरमा चिनी दिने प्रस्ताव गरेको थियो । एक मेट्रिक टनमा १ हजार किलो चिनी हुन्छ । यसलाई नेपाली रुपैयाँमा परिवर्तन गर्दा नेपालमा बढीमा ५५ देखि ६० रुपैयाँ किलोमा चिनी उपभोक्ताहरुले पाउने थिए । नेपालको उत्पादनले चिनीको माग धान्नै नसक्ने यथार्थता घामजत्तिकै छर्लङ्ग छ । तर चिनी माफिया शशीकान्त अग्रवालको चास्नीमा परी आयातमा रोक लगाएर सरकारले उपभोक्ताको ढाड सेक्ने काम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्