काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशनमा सहभागी अधिकांशको रक्तचाप सन्तुलित रहेको पाइयो । महाधिवेशन कार्यक्रमस्थल भृकुटीमण्डपमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गरिएका अधिकांशको रक्तचाप सन्तुलित रहेको पाइएको हो । ब्लुक्रस अस्पतालले शिविर सञ्चालन गरेको थियो ।
स्वास्थ्यकर्मी सोमिमा आचार्यले भन्नुभयो– “एकाध सहभागीको मात्र रक्तचापमा गडबडी देखिएको छ ।” महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति र महासमिति सदस्यको सहभागिता रहेको भृकुटीमण्डप क्षेत्र धूमपानविहीन रह्यो । प्रहरी अस्पताललगायतका एम्बुलेन्स तयारी अवस्थामा राखिए पनि एम्बुलेन्सको उपयोग भएन ।
महाधिवेशन कार्यक्रम स्थलमा नुवाकोट बेलटारबाट बदामको भारीसहित आइपुग्नुभएका प्रमोद नेपालले खासै बदाम बिक्री नभएको गुनासो गर्नुभयो । सहभागीमध्ये केहीले मात्र घाम न्यानो हुँदै गर्दा बदाम खाए भने महिलाले तितौरा खान रुचाए ।
चितवनमा भएको नेकपा एमालेको महाधिवेशनमा ह्वात्तै बदाम बिकेकाले आफूहरू नुवाकोटबाट भृकुटीमण्डपमा बदाम बेच्न आइपुगेको उहाँले बताउनुभयो ।, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।














