Logo
Logo
कला

‘एउटै एल्बम ५० हजार प्रतिसम्म बिक्री भयोे’



लोक तथा दोेहोरी गीतसंगीत क्षेत्रकी चर्चित गायिका हुन् देवी घर्ती । उनका सयौँ गीत चर्चित र लोकप्रिय छन् । सांगीतिक यात्राका क्रममा डेढ दशक विताइसकेकी देवीले अहिलेसम्म कति गाइन् त ? ठ्याक्कै उनैलाई थाहा छैन । उनी भन्छिन्, ‘६ हजारभन्दा बढी भयो होला ।’ गायनमै करिअर बनाउने सपना लिएर बागलुङबाट २०६१ सालमा काठमाडौं छिरेकी देवी घर्तीका ‘बिर्सियांै कि कुन्नी’, ‘मायाले मन छुन्छ’, ‘गण्डकी पौडेर’, ‘फूलमा माहुरी डुल्ने बेलामा’, ‘जिम्माल बाको आँगनीमा’, ‘हाँस्न सिकायौं’जस्ता दर्जनौँ कर्णप्रिय गीत छन् । काठमाडौंमा दोहोरी साँझबाट गायन सुरु गरेकी देवी घर्तीलाई त्यतिखेरै लाग्थ्यो, ‘एकदिन गायिका बनेर मेरो स्वर पनि रेडियो नेपालमा गुञ्जिने छ ।’ आफ्ना सपना र लक्ष्य पूरा गरेकी उनै चर्चित गायिका देवी घर्तीसँग एमपी सुब्बाको जम्काभेट :

लोकदोहोरी क्षेत्रमा लोकप्रिय हुनुहुन्छ । गायन क्षेत्र रोज्दैगर्दा के सोच्नुभएको थियो ?

लोकप्रिय र चर्चित बन्छु भन्ने त सोचेकी थिइनँ । तर, गायिका बन्नकै लागि काठमाडौं आएकी हुँ । त्यसैले गायिकाचाहिँ पक्कै बन्छु भन्ने लागेको थियो ।

गायिका बन्छु भन्नेचाहिँ कसरी लाग्यो ?

म सानैदेखि गीत गाउन भनेपछि हुरुक्कै हुन्थेँ । अरुका गीतहरु गुनगुनाउँथेँ । मेरो लक्ष्य नै गायिका बनेर रेडियोमा आफ्नो स्वर घन्काउनु थियो । तर, बाग्लुङमा बसेर गीतसंगीतमा जम्न सकिँदैन भन्ने लागेपछि काठमाडौं आउने योजना बनाएँ । योजना बनाएर पनि चार वर्षपछि मात्र काठमाडौं आउने मौका मिल्यो ।

काठमाडौं आउनेवित्तिकै गाउने अवसर मिल्यो कि मिलेन ?

काठमाडौं आएपछि सुरुमा दोहोरी साँझमा गाउन थालेँ । दोहोरीमा गाउँदैजाँदा गायक खड्क गर्बुजा मगरसँग चिनजान भयो । उहाँले आफ्नो एल्बम तयारी गर्दै हुनुहुँदोरहेछ । मेरो स्वर मन पराएपछि उहाँले मलाई गाउने अवसर दिनुभयो ।

दोहोरी साँझमा कति समय गाउनुभयो ?

तीन वर्ष गाएँ । लालीगुराँस दोहोरी साँझबाट गाउन सुरु गरेकी हुँ । त्यसपछि गण्डकी दोहोरी साँझमा गाएँ । विस्तारै व्यस्त हुन थालेपछि दोहोरी साँझमा गाउन छाडेँ ।

एक समय लोकदोहारी भनेकै ‘देवी घर्ती’ भन्नेसम्म थियो । त्यतिखेर आफूलाई कसरी मेन्टेन्स गर्नुभयो ?

२०६२ सालतिरको कुरा हो । त्यतिखेर मेरो एउटै एल्बम ५० हजार प्रतिसम्म बिक्री भएको थियो । त्यो बेला खान र सुत्नलाई समेत समय मिल्दैन थियो । एकैदिन आठ वटासम्म गीत रेकर्ड गरेकी छु ।

पहिलोपटक रेकर्ड गर्नुभएको गीत याद छ ?

याद छ । ‘बतासले रुमाल फरर’ बोलको गीत हो । जुन गीत खड्क गर्बुजा मगरकै एल्बममा समावेश छ ।

अहिलेसम्म कति गीत गाएँ भन्ने थाहा छ कि छैन ?

थाहा छैन । एक÷डेढ सयको संख्या पुग्दासम्म थाहा हुन्थ्यो । त्यसपछि गन्नै छाडेँ । अहिलेसम्म ६ हजारभन्दा बढी नै भयो होला ।

यति धेरै गीत गाउनुभयो । तीमध्ये आफूलाई मनपर्ने पाँच गीत भन्नुपर्दा ?

थुप्रै छन् किनकि, आफ्नो सबै सिर्जना आफूलाई मनपर्छ । तैपनि, भन्नैपर्दा ‘हाँस्न सिकायौं’, ‘फूलमा मौरी डुल्ने बेलामा’, ‘उही खोलाको पानी’, ‘बदला बरी लै’ र ‘जिम्माल बाको आँगनीमा’ । यी गीतहरुचाहिँ अहिले पनि श्रोताले रुचाउँदै आउनुभएको छ ।

गायिका देवी घर्ती भनेर चिनाउने तपाइँको सिग्नेचर गीत कुन हो ?

सुरुमा चिनाउने गीत ‘सल्लैको धुपैले’ हो । यो गीतको एल्बम नै ५० हजारभन्दा बढी बिक्री भएको थियो । त्यो समय एल्बम र सिडीको चलन थियो ।

स्वदेशमा भन्दा विदेशमा बढी व्यस्त हुनुहुन्छ । अहिलेसम्म कति देश पुग्नुभयो ?

कुन–कुन देश पुगेँ भन्ने नै बिर्सिन थालेँ । दुवई, कतार, मलेसिया, साउदी, वहराइन, जापान, कोरिया, हङकङ, युरोपका अधिकांश मुलुकमा पुगेकी छु ।

महिला कलाकार विवाहपछि प्रायः ओझेल पर्छन्, तर, तपाइँ झनै चम्किनुको कारण के हो ?

विवाह अघि नै म गायिका देवी घर्ती भनेर चिनिएकी थिएँ । तर, विवाह पछि थप चर्चामा पाएँ । यसको कारण मेरो श्रीमान (राजु ढकाल) पनि कलाकार नै हुनुहुन्छ । उहाँबाट राम्रो साथ र सपोर्ट पाएकी छु ।

आफ्नो लोकप्रियता देखेर कस्तो अनुभूति हुन्छ ?

खुसी लाग्छ । म आज जेछु, यो सबै दर्शक÷श्रोताको माया हो । दर्शक श्रोता मेरा लागि भगवान हुन् । हजुरहरुले दिएको माया र आशीर्वाद सधैं यसरी नै पाइराखुँ ।

प्रतिक्रिया दिनुहोस्