
मकवानपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले देश विकासमा सहकारीको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।
तीनखम्बे अर्थनीतिमा सहकारीको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दै मन्त्री खतिवडाले आर्थिक विकासको बलियो खम्बाका रूपमा सहकारीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
आफू निर्वाचित भएको क्षेत्रअन्तर्गत उत्तरी मकवानपुरको पालुङस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको २२औँ साधारणसभाको उद्घाटन गर्दै मन्त्री खतिवडाले सहकारी क्षेत्रलाई अवमूल्यन गर्न नहुने बताए ।
कतिपय सहकारीहरू ठगी आरोपमा परिरहेको अवस्थामा राम्रा काम गर्ने सहकारी ओझेलमा परेको बताउँदै मन्त्री खतिवडाले सचेत पूर्वक सहकारीले आफ्ना सदस्यको हितमा काम गर्नुपर्नेमा जोड दिए ।
संस्थाका सदस्य होसियार रहनुपर्ने उल्लेख गर्दै हिसाब–किताब खोजी गर्न र नेतृत्व तहलाई खबरदारी गरिरहन सदस्यलाई मन्त्री खतिवडाले आग्रह गरे ।
आफूले पाएको स्वास्थ्यमन्त्रीको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास दिलाउँदै उनले कोभिड–१९ महामारीको डटेर सामना गर्न सक्ने रणनीति अबलम्बन गरिएको बताए ।
मन्त्री खतिवडाले सबै जनतालाई खोप लगाउने आफ्नो जिम्मेवारी भएको बताउँदै भने– ‘स्टक रहेको खोप नागरिकलाई लगाउन स्वास्थ्यकर्मीहरू खोपको डब्बा बोकेर गाउँटोल पुगेका छन्, प्रत्येक नागरिकलाइ खोप लगाउन पाउनुहुन्छ ।’
अब १६ हजार स्थानबाट खोप कार्यक्रम सञ्चालन गर्ने बताउँदै उनले पहिलो र दोस्रो खोप पूरा गरिसकेकाका निम्ति बुस्टर डोज नेपाल सरकारले निःशुल्क लगाइदिने जानकारी दिए ।
मन्त्री खतिवडाले फरक प्रसङ्गमा आफू थाहा नगर आउने भएपछि यहाँका एमालेका नेताहरूलाई ज्वरो आएको र अनेकौँ आन्दोलनबाट प्राप्त उपलब्धिलाई व्यक्तिवादले सक्काउन खोजेको आरोप लगाए ।
उनले थाहानगरमा बन्दै गरेको १५ शय्याको अस्पताल निर्माण सम्पन्न भएपछि त्यसका लागि आवश्यक आइसीयूलगायत उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल कृषि सहकारी सङ्घ केन्द्रीय लेखा समिति संयोजक महेश्वर सुवेदीले सहकारी संस्था समाजवादी प्रक्रियामा भन्दा पूँजीवादी प्रक्रियामा चलेकाले लाभांश वितरणमा एकरुपता नभएको बताए ।














