Logo
Logo

होटल क्षेत्रमा प्रतिस्पर्धा चुलिएको छ- सिर्जना राणा, अध्यक्ष (हान)


- दृष्टि न्युज/संवाददाता


देशभरिका होटल व्यवसायीहरुको छाता संस्था होटल एशोसिएसन अफ नेपाल (हान) ले पहिलोपटक महिलालाई नेतृत्व तहमा पु¥याएको छ । दरबारमार्गस्थित होटल अन्नपूर्णकी सिईओ सिर्जना राणा गत साता हानको अध्यक्षमा चुनिएकी छिन् । उनै राणासँगको कुराकानी–

सिर्जना राणा, अध्यक्ष होटल एशोसियन अफ नेपाल(हान)

हानको अध्यक्षको रुपमा होटल क्षेत्रलाई के योगदान दिने योजना बनाउनुभएको छ ?

मेरो योजनाको कुरा गर्नुपर्दा नेपालमा रहेको हालको परिस्थितिलाई परिवर्तन गरी यस क्षेत्रको मागअनुसार पर्यटन क्षेत्रमा केही नयाँ परिवर्तन ल्याउन अनिवार्य देखिएको छ । पर्यटन क्षेत्र तथा होटल व्यवसायलाई लिएर बनेका नेपाल सरकारको विद्यमान नियम कानूनहरुलाई प्रभावकारी रुपमा लागू गरिनु पर्दछ भन्ने विषयलाई विशेष महत्व दिन पहल गर्ने समेत मेरो योजना रहेको छ । यस क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि के–कसरी अघि बढ्न सकिन्छ भन्नेबारे कार्यक्रमहरु सञ्चालन गर्नेसमेत योजना रहेको छ ।

अहिले होटल क्षेत्रका समस्या के–के छन् ?

होटल व्यवसायीको मूल समस्याहरु भन्नुपर्दा मुख्यतः नेपाल सरकारबाट यस क्षेत्रमा लगाइएको होटल व्यवसायीको क्षमताभन्दा अत्याधिक कर, देशको प्राय क्षेत्रमा विकासका पूर्वाधारहरुको अभाव, मार्केटिङ प्रभावकारी नहुनु, अन्तर्राष्ट्रियस्तरको सेवासुविधा प्रदान गर्न नसक्नु, उपयुक्त प्रशिक्षण तथा यस सम्बन्धी ज्ञानको अभाव, यस क्षेत्रको मूल्यांकन तथा विश्लेषणको कमी, पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनको कमी, माग भएबमोजिमको पर्यटकीय सेवासुविधाको अभाव नै हुन् ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने योजना अघि बढाएको छ, त्यो सम्भव देख्नुहुन्छ ?

२० लाख पर्यटक भित्र्याउने लक्ष्यअनुसार नै हाम्रो काम र तयारी अघि बढिरहेको छ । नेपाल भ्रमण वर्ष २०२० को योजनाअनुसार प्रक्रिया अगाडि बढाउने हो भने २० लाख पर्यटक भित्र्याउन असम्भव छैन । तसर्थ यसका लागि सम्बन्धित सरकारी तथा निजी निकाय, पर्यटन क्षेत्रका आधिकारिक पक्ष आदिले आफ्नो तर्फबाट पूर्णरुपले साथ तथा सहयोग दिनु अत्यन्त आवश्यक छ । साथै हरेक जनताले आफ्नो तर्फबाट कुनै न कुनै प्र्रकारको सहयोग गर्न सके पर्यटकको संख्यामा वृद्धि हुने सम्भावना अझ बढी छ ।

पर्यटक बढाउन तत्काल सरकारले के–के गर्नुपर्ला ?

पर्यटक बढाउन सरकारले पर्यटन क्षेत्रको विकासमा अझ बढी जोड दिनु आवश्यकता छ । पर्यटकीय सम्भावना रहेको स्थानमा विकासका पूर्वाधारहरु वृद्धि हुनुपर्ने देखिन्छ । पर्यटकहरुलाई प्रदान गरिने सेवा सुविधा उच्चस्तरीय हुनुपर्ने र उनीहरुलाई हुनसक्ने असहजता एवं असुरक्षा पूर्णरुपमा हटाई नेपाललाई पूर्णरुपले सुरक्षित गन्तव्यको रुपमा विश्वसामु चिनाउन सक्नु पर्दछ ।

नयाँ होटलहरु खुल्ने क्रम तीव्र छ, होटल क्षेत्रको प्रतिस्पर्धा कस्तो छ ?

यस क्षेत्रको प्रतिस्पर्धा चुलिएको छ भन्दा फरक पर्दैन । एकपछि अर्को पाँचतारे होटलदेखि लिएर सानातिना लज रिसोर्टहरु खुल्ने क्रम जारी छ । कसले कस्तो सेवासुविधा प्रदान गर्ने र पर्यटकहरुलाई कसरी आकर्षण गर्ने भन्ने होडबाजी नै चलेको छ । तर च्याउ उम्रे जसरी होटल तथा लज मात्र खुलेर मात्र राम्रो हुने होइन, पर्यटकको मागअुनसार सेवासुविधाको गुणस्तरीयतामा ध्यान पु¥याउन आवश्यक छ ।

तपाई कसरी होटल व्यवसायमा आबद्ध हुनुभयो ?

म सानैदेखि किताबी ज्ञानभन्दा व्यवहारिक ज्ञान लिन रमाउने मान्छे हो । पछि, मैले होटल म्यानेजमेन्ट विषय लिएर अध्ययन गरेँ र यसमै रुचि तथा लगाब बढ्दै गयो । संयोगवश मेरो विवाह पनि होटल व्यवसायीसँगै भयो र अहिलेसम्म पनि यही क्षेत्रमै काम गरिरहेको छु । मलाई लाग्छ पछिसम्म यही क्षेत्रमा रहनेछु । मेरो पेशा तथा रुचिसमेत होटल व्यवसाय नै भएकाले यस क्षेत्रमै केही उल्लेखनीय योगदान पु¥याउने मेरो लक्ष्य छ ।

होटल अन्नपूर्ण के कारण लोकप्रिय छ ?

नेपालकै पहिलो पाँचतारे होटलमा परिचित यस होटलको मुख्य लोकप्रियता भन्नुपर्दा यहाँबाट प्रदान गरिने अन्तर्राष्ट्रियस्तरको सेवासुविधा हो । हाम्रो होटल विभिन्न प्रकारका स्वादिष्ट खानाका लागि पनि प्रसिद्ध छ । यस होटल काठमाडौंको मुटु दरबारमार्गमा अवस्थित भएकाले अझ बढी लोकप्रियता बढेको हो भन्ने मलाई लाग्छ ।

व्यवसायमा सफलताका लागि के कुरा आवश्यक हुन्छन् ?

व्यवसायमा मात्र नभई हरेक क्षेत्रमा सफलता हासिल गर्नका लागि चाहिने सबैभन्दा महत्वपूर्ण विषय एवं सूत्र भनेको आफ्नो दायित्वप्रतिको इमान्दारीता, कामप्रतिको जिम्मेवारीबोध, लगनशीलता, परिश्रम तथा निरन्तरता नै हुन् ।

व्यवसायका साथै र परिवारलाई समय दिन कत्तिको गाह्रो हुन्छ ?

परिवारलाई समय दिन गाह्रो त छ । तर, मैले परिवारका लागि समय मिलाउने गरेको छु । व्यवसायलाई अघि बढाउनुको साथसाथै परिवारलाई पनि खुशी राख्नु मेरो कर्तव्य हो । अहिलेसम्म व्यवस्था मिलाइ नै राखेको छु ।

फुसर्दको समय कसरी बिताउनुहुन्छ ?

म आध्यात्मिक व्यक्ति भएको हुनाले फुसर्दको समयमा धर्म, कर्म आदिमा समय दिने गरेको छु । साथै सामाजिक सेवासँग सम्बन्धित कार्यक्रहरुमा पनि सहभागी हुने गरेको छु । यसले मेरो मनलाई आनन्द महसुस गराउँदछ ।

नेपालमा बसेर काम गर्दा के कुरामा खुशी लाग्छ, के कुरामा दिक्क लाग्छ ?

मेरा जन्मभूमि, कर्मभूमि नेपाल भएकाले यहाँ काम गर्दा मलाई सन्तुष्टि मिलेको छ । आफ्नो देशको लागि र विशेषगरी देशको आर्थिक पक्षमा मैले पनि सक्दो योगदान गरेको छु भन्ने लाग्छ र त्यसमै मलाई खुशी मिल्दछ । दिक्क लाग्ने विषय चाहिँ हाम्रो देशको विकराल एवं उथलपुथल राजनीतिक अवस्था, होटल तथा पर्यटन व्यवसायलाई लिएर बनाइनुपर्ने उपयुक्त नीति नियमको कमी, प्रदुषण, सरकारी निकाय तथा पक्षबाट केही काम लिनुपर्दा झेल्नुपर्ने सास्ती हुन् ।

प्रस्तुतिः पार्वती धरेल

प्रतिक्रिया दिनुहोस्