Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

पहिलो चरणमा निर्वाचित नभए देउवा दोस्रो चरणबाट पराजित हुने खतरा



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत विभिन्न पदका म्मेदवारबीच प्रतिस्पर्धा तीव्र छ । जितका लागी सबै आ–आफ्नै रणनीतिअनुसार तयारीमा जुटेका छन् ।

निर्वाचनसम्बन्धी व्यवस्थाका कारण सभापतिका उम्मेदवारहरु तनावमा छन् । कांग्रेसको विधानअनुसार कुनैपनि पदका प्रत्यासीले ५० प्रतिशतभन्दा बढी मत नल्याए पुनः निर्वाचन गर्नुपर्ने हुन्छ । त्यसैले सभापतिका मुख्य दावेदार वर्तमान सभापति शेरबहादुर देउवा पहिलो चरणमै निर्वाचित हुन चाहन्छन् ।

पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएको खण्डामा दोस्रो पटक निर्वाचन हुन्छ । उक्त निर्वाचनमा सधैभन्दा धेरै मत प्राप्त गर्ने र दोस्रो मत ल्याउनेबीच मात्र प्रतिस्पर्धा हुन्छ । अन्य सबै प्रतिस्पर्धी बहिरिन्छन् । त्यस्तो अवस्थामा दोस्रो मत ल्याउने उम्मेदवारको पक्षमा बाहिरिएका बाँकी प्रतिस्पर्धी एक हुने र सबै एक ठाउँमा आए आफू पराजित हुने देउवालाई डर छ । त्यसैले उनी पहिलो निर्वाचनमै जित प्राप्त गर्न चाहन्छन् ।

सभापति पदका अर्का उम्मेदवार शेखर कोइराला निर्वाचन प्रक्रिया दोस्रो चरणमा पुगोस् भन्ने चाहन्छन् । पहिलो चरणको निर्वाचनमा देउवालाई बिजयी हुन नदिने र निर्वाचन प्रक्रिया दोस्रो चरणमा लैजाने रणनीतिमा लागेका शेखर दोस्रो चरणको निर्वाचनबाट आफू सजिलै बिजयी हुने निष्कर्षमा पुगेका छन् ।

विगतमा देउवा समूहमै रहेका विमलेन्द्र निधि, रामचन्द्र पौडेल समूहमा रहेका प्रकाशमान सिंह सभापति पदका उम्मेदवार छन् । सभापति पदका उम्मेदवार युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिँदै शेखरलाई समर्थन रहेको घोषणा गरिसकेका छन् । युवा नेता कल्याण गुरुङको उम्मेदवारी यथावत छ ।

दोस्रो चरणको निर्वाचन भए एक ठाउँमा उभिने शेखर, प्रकाशमा र विमलेन्द्रबीच भद्र सहमति भइसकेको छ । पहिलो चरणको निर्वाचनमा यीमध्ये जो दोस्रो हुन्छ त्यसलाई सबैले समर्थन गरेर बिजयी गराउँने भद्र सहमति भएकै कारण देउवा पहिलो चरणबाटै निर्वाचित हुने तयारीमा जुटेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका देउवा सभापतिमा दोहोरिन कुनै कसर बाँकी नराख्ने मनस्थितिमा देखिन्छन् । पहिलो चरणमा विजयी हुन नसकेमा दोस्रो चरणमा शेखर, प्रकाशमान र विमलेन्द्रहरु मिल्न सक्छन् भन्नेमा देउवा सतर्क छन् । त्यसैले उनले कृष्णप्रसाद सिटौलासँग समीकरण बनाएका हुन् ।

सिटौलासँग समीकरण गरेर प्रदीप पौडेललाई महामन्त्री र उमाकान्त चौधरीलाई सहमहामन्त्रीको उम्मेदवार बनाएपछि देउवा समूहमै असन्तुष्टि बढेको छ । दुईमध्ये एक महामन्त्रीमा प्रकाशशरण महत र अर्कोमा पौडेल उम्मेदवार भएपछि यही पदका दाबेदार बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदले असन्तुष्टि जनाएका छन् ।

‘अहिले नै समीकरण नगर्ने हो भने चुनाव दोस्रो चरणमा जान सक्छ, दोस्रो चरणमा हार्न सकिन्छ, सभापति हारे सबै सकियो, महामन्त्री जितेर के गर्ने ?’ देउवाको यो भनाइपछि यी नेताहरूले केन्द्रीय सदस्यमै चित्त बुझाउने गरी उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन प्रक्रिया दोस्रो चरणमा नजाओस् भनि सचेत रहेका देउवाले सिटौलासँग समीकरण गर्नुका साथै आइतबार रामचन्द्र पौडेललाई निवासमै पुगेर सहयोग गर्न आग्रह गरिसकेका छन् । सभापतिका उम्मेदवार हुन खोजेका पौडेल अन्तिम समयसम्म सहमति हुन नसक्दा सभापतिको दौडबाट पछि हटेका हुन् ।

उता, शेखरले पदाधिकारीमा प्रभावशाली नेताहरूको टिम बनाएर देउवासामु कडा चुनौती प्रस्तुत गरेका छन्  । उनले पदाधिकारीमा युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, देवराज चालिसे, जीवन परियारलाई जोडेका छन्  । विगतमा रामचन्द्र र शशांक कोइराला दुवैको विश्वास जित्न सबैलाई उनले टिममा समेटेका छन् ।

कोइराला परिवारकै नेताहरु विभिन्न समूहमा विभाजित भएर उम्मेदवारी दिँदै गर्दा त्यसको प्रभाव शेखरलाई पर्ने निश्चित छ । तर पनि, उनी दोस्रो चरणको निर्वाचनबाट विजयी हुने आशा राख्छन् ।

कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले कांग्रेसको विधानमा सभापतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने व्यवस्था रहेको बताए । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाएको अवस्थामा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः मतदान गरिनुपर्छ ।

‘मतदान सम्पन्न भएलगत्तै सभापतिको मतगणना सुरु गर्छौँ । कुनैपनि उम्मेदवारको मत ५० प्रतिशत बढी नभएको अवस्थामा यथाशीघ्र पुनः मतदानको व्यवस्था गर्छौँ’ घिमिरेले भने ।

सभापतिको मतगणना राष्ट्रिय सभागृहमा सकेर बाँकी उम्मेदवारको मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा गर्ने निर्वाचन समितिको तयारी छ ।

महाधिवेशनस्थलमा सोमवार बिहान ८ बजेबाट मतदान शुरु गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । मतदान स्थलमा एक पटकमा करिब एक हजार जना अटाउन सक्ने व्यवस्था गरिएको छ । तीन फरक ठाउँबाट मतदाताहरू मतदान स्थलमा प्रवेश गर्ने व्यवस्था गरिएको छ । महाधिवेशनमा ४ हजार ७०० भन्दा बढी मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

मतदान शूरु भएको ५ देखि ७ घण्टामा सकिने अनुमान गरिएको संयोजक घिमिरेले जानकारी दिए । कांग्रेस प्रतिनिधिले सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री र समावेशीसहित आठ सह–महामन्त्रीका लागि पदाधिकारीमा मतदान गर्नुपर्नेहुन्छ ।

मतदानबाट खुल्ला ३५, महिला, मधेसी र दलित ९–९, हरेक प्रदेशबाट ३ जना सहित २१, आदिवासी जनजाति १५, खस आर्य १३, थारु ४, मुस्लिम ३ र पिछडिएको क्षेत्र, अपाङ्ग र अल्पङ्ख्यकबाट १–१ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

कांग्रेसको कोषाध्यक्षसहित ३३ केन्द्रीय सदस्य निर्वाचित सभापतिको सिफारिसमा केन्द्रीय समितिबाट मनोनीत हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्