पर्यटकको धार्मिक आस्थाको स्थल कुम्भकर्ण हिमशृङ्खला « Drishti News – Nepalese News Portal
Logo

पर्यटकको धार्मिक आस्थाको स्थल कुम्भकर्ण हिमशृङ्खला


दृष्टि संवाददाता


फुङ्लिङ। कुम्भकर्ण (फक्ताङलुङ) हिमशृङ्खला धार्मिक पर्यटकको प्रमुख गन्तव्यस्थल बन्दै गएको छ । १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले यस हिमालका फेदीमा तपस्या गरेको पवित्रस्थल भएकाले अहिले आन्तरिक तथा बाह्य पर्यटकको धार्मिक आस्थाको स्थल बन्दै गएको हो ।

कञ्चनजङ्घा हिमालभन्दा धेरै पर्यटक कुम्भकर्ण फक्ताङलुङ मा जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । कञ्चनजङ्घा हिमशृङ्खलामा नै रहेको यस हिमालको उचाइ ७७१० मिटर रहेको छ । केही अघिसम्म विदेशी पर्यटकले कुम्भकर्ण हिमाललाई ९जन्नु० हिमालको रुपमा चिनेका यस हिमालमा फाटफुट विदेशी पर्यटक अवलोकनमा लागि पुग्ने गर्दथे । कञ्चनजङ्घा हिमालको उत्तरी आधार शिविरको बाटोअन्तर्गत हजारे वा खम्बाचेनबाट बिहान पुगेर पैदलरुपमा फर्केर आउन सकिन्छ यस फक्ताङलुङ हिमालको आधार शिविरबाट । यस हिमालको पहिलो आरोहण प्रयास सन् १९६२ मा भएको थियो ।

यस कुम्भकर्ण हिमालको पहिचान अन्य हिमालका तुलनामा फरक रहेको छ । यहाँ विगत लामो समयदेखि धार्मिक पर्यटक पनि फाटफुट आएर दर्शन गरी फर्कने गर्दथे । किराँत धर्मावलम्बीको पवित्र धार्मिकस्थलको रुपमा अहिले यसस्थललाई किराती मारुम्तेम्बे, पारुम्बेतेम्बे भनेर धार्मिक स्थलका रुपमा पूजाआजा गरी बर्सेनि दर्शनका लागि तीर्थ आउने गर्दछन् । यस हिमालको फेदिलाई अहिले धार्मिकस्थलको रुपमा परिचित गर्ने र त्यस स्थानमा भौतिक संरचना निर्माणले तीव्रता पाएसँगै यहाँ आउने धार्मिक पर्यटक ह्वात्तै बढेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष छोवाङ शेर्पाले बताउनुभयो ।

पवित्र कुम्भकर्ण धार्मिकस्थल संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष दीपक ताप्मादेनका अनुसार यस यस फक्ताङलुङ हिमालको फेदीमा रहेको धार्मिकस्थल ४५०० मिटरको उचाइमा भएकाले जुनसुकै मौसममा यहाँ पुग्न सम्भव हुँदैन त्यसैले पर्यटकीय मौसम असोजदेखि मङ्सिरसम्म र फागुनदेखि वैशाखसम्मको समयमा यहाँ जानको उपयुक्त मौसम हो ।

ताप्लेजुङ सदरमुकामबाट एक दिनको मोटरबाटो भएर लेलेपको सेकाथुमबाट सामान्यतय तीन दिनको पैदल दूरीमा मात्र पुग्न सकिने यस धार्मिक तथा मनोरम प्राकृतिकस्थलमा बर्सेनि हजारौँ किराँत धर्मावलम्बी पुग्ने गर्दछन् । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङलगायत भारतको विभिन्न क्षेत्रबाट, भुटान, हङ्कङ, बेलायतजस्ता देशबाट नेपाली मूलका धर्मावलम्बी आउने उहाँले बताउनुभयो । दृष्यावलोकन र मनोरञ्जनका लागि आउने विदशी र स्वदेशी पर्यटकको पहिलो समयमा ओइरो लाग्न थालेको उनको पर्यटन व्यवसायीको भनाइ रहेको छ । विस्तारै यसको प्रचारप्रसार भएको, साथै नेपालीको पनि घुमफिरमा रुचि र समय दिन थालेकाले अहिले यहाँ आउने पर्यटकको सुरुआत मात्रै भएको र आगामी दिनमा यस फक्ताङलुङलाई धार्मिक र प्राकृतिक पर्यटकीय हव बन्न सक्ने अध्यक्ष ताप्मादेनले बताउनुभयो ।

अहिलेसम्म कति पर्यटक र धर्मावलम्बी यस स्थानमा आए तथा वर्षमा कति आउँछन् भनेर कसैले तथ्याङ्क राखेको पाइएको छैन । कञ्चनजंघा संरक्षण क्षेत्रको पर्यटन चेकपोष्ट घुन्साका कर्मचारी टासी तेञ्जिङ शेर्पाका अनुसार अहिलेसम्म विदेशी पर्यटकको तथ्याङ्क राख्ने गरेको भए तापनि स्वदेशी पर्यटकको तथ्याङ्क राख्ने व्यवस्था नभएकाले नराखिएका बताउनुहन्छ । उहाँका अनुसार गत दुई वर्षबाट विदेशी पर्यटक कञ्चनजङ्घा आएको भन्दा झण्डै दोब्बर पर्यटक धार्मिकरुपमा यस फक्ताङलुङमा आउने गरेका छन् । विगतको आर्थिक वर्ष २०७६÷७७ मा ६०८ जना विदेशी पर्यटक कञ्चनजङ्घामा आएका थिए भने आव २०७७÷७८ मा कोरोना महामारीका कारण ४३ जना मात्र पर्यटक यस क्षेत्रमा आएको पाइन्छ ।

फक्ताङलुङ हिमालमा आउने पर्यटक तथा धर्मावलम्बीको लागि अहिले धमाधम आवश्यक भौतिक पूर्वाधार पनि बन्ने क्रम जारी रहेको छ । अहिले सो स्थानमा धर्मावलम्बीलाई खान बस्नको लागि भक्तशाला निर्माण भएको छ भने गुरुआश्रम पनि निर्माण भएको छ । धर्मावलम्बीको लागि खान बस्नको लागि थप संरचना बनाउनका लागि र निजी लगानीमा होटल, चिया पसल पनि सञ्चालनको लागि थप कानूनी जटिलता फुकाएर सेवा सुविधा प्रदान गर्नका लागि प्रयास भइरहेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष छोवाङ शेर्पाले बताउनुभयो । अबको केही वर्षमा यस क्षेत्रमा धार्मिक पर्यटकको चाप थामी नसक्नु हुने भएकाले यस क्षेत्रको सेकाथुम, लामाटा, ठाङ्गेम, ग्याब्ला, फले, घुन्सा, हजारे, खम्बाचेनका होटल तथा चिया पसल व्यवसायीले पनि लगानी बढाएर सेवा क्षमतामा वृद्धि गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

स्थानीय तह, कञ्चनजङ्घा संरक्षण क्षेत्र, पवित्र कुम्भकर्ण धार्मिकस्थल संरक्षण समिति र स्थानीयको सहकार्यमा यस क्षेत्रमा सञ्चार, विद्युत्, सहज बाटो, स्वस्थ्य सेवा, आवश्यक भौतिक संरचनाको निर्माण तथा प्रचारप्रसार गरेमा यस क्षेत्रको स्थानीय समुदाय, सरोकारवाला निकाय सबैको लागि उदाहरणीय धार्मिक पयर्टन क्षेत्र बन्नेमा शङ्का छैन । रासस

प्रतिक्रिया दिनुहोस्