Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

शेखरलाई युवाको आश, देउवालाई सत्ताबाट बाहिरिने त्रास



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भइसकेको छ । विभिन्न पदका उम्मेदवारहरु महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका छन् । सोमबार बिहान ८ बजेदेखि गर्ने भनिएको मतदान तीन घण्टा ढिलागरी सुरु भएको हो ।

महाधिवेशन प्रतिनिधिसँग उम्मेदवारमात्रै नभई उम्मेदवारका शुभेच्छुक, समर्थकहरुले समेत प्रतिनिधिसँग मत माग्नमा व्यस्त छन् । महाधिवेशनस्थल भृकुटीमण्डपमा भिडभाडका बीचमा मतदान जारी छ ।

मत माग्दै गर्दा उम्मेदवारहरुको आ–आफ्नै शैली र नारा प्रयोग गरिरहेका छन् । सकेसम्म आफूलाई फरक देखाउने प्रयास र प्रयत्न हरेकजसो उम्मेदवार, समुह र त्यसको प्रचारमा लागेकाहरुले गरिरहेको देखिएको छ ।

देउवालाई सत्ताबाट बाहिरिने त्रास

महाधिवेशनमा प्रतिनिधिसँग मत माग्दै गर्दा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले आफू पराजित भए सत्ताबाट बाहिरिनुपर्ने त्रासमा छन् । प्रधानमन्त्रीसमेत रहेका देउवाले सभापतिमा आफू बिजयी नभए यो गठबन्धन सरकारसमेत नरहने भन्दै मत मागिरहेको देखिन्छ ।

१३औँ महाधिवेशनमा सभापतिका उम्मेदवार रहेका नेता कृष्णप्रसाद सिटौलालाई लिएर देउवाले मत माग्दै गर्दा सत्ताबाट बाहिरिने त्रास व्यक्त गरेका छन् । आफू सभापति बिजयी भएमा मात्रै अहिलेको सरकार आगामी चुनावसम्म टिकिरहने उनले बताए । सभापतिमा पराजय रोक्नका लागि देउवाले सत्ता बहिर्गमनको अस्त्र प्रतिनिधिहरु माफ राखेका छन् ।

‘पार्टी सभापति म भएको खण्डमा मात्रै अहिलेको गठबन्धनको सरकार आगामी चुनावसम्म टिकिरहन्छ । मैले चुनाव हारे प्रधानमन्त्रीमा बस्न पाइँदैन भनेर होहल्ला गर्नेछन् सबैले । यो गठबन्धनको सरकार पनि रहदैन्, त्यसैले मैले सभापतिमा चुनाव जसरी भए पनि जित्नैपर्छ’ देउवाले एक कार्यक्रममा मत माग्दै भनेका छन् ।

आफू पार्टी अध्यक्षमा बिजयी भए र प्रधानमन्त्री रहिरहेको अवस्थामा आगामी निर्वाचनमा तीनै तहको निर्वाचनमा कांग्रेसले निर्वाचन जित्ने निश्चित रहेको उनले ठोकुवा गरेका छन् । गाउँदेखी केन्द्रसम्मको निर्वाचनमा जित्नका लागि पनि यो सरकार आवश्यक छ भने आफू सभापतिमा बिजयी हुन पनि महत्वपूर्ण रहेको दावी उनले गर्दै आएका छन् ।

महाधिवेशन उद्धघाटन सत्रमा समेत देउवाले आफू सभापतिमा बिजयी भए कांग्रेसको सरकार बनाउँने जिम्मा भएको बताए । तीनै तहमा कांग्रेसको सरकार गठनको जिम्मा आफ्नो रहेको उनले भने । साथै, प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति भए स्थायित्व हुने तर्कसमेत उनले अघि सारेका छन् ।

‘यो मेरो अन्तिम बेला हो । ओलीलाई हटाएर म प्रधानमन्त्री बनेको छु । यदि मैले जितेको खण्डमा मात्रै यो पार्टीलाई सबै गाउँदेखि माथिसम्मको सरकार बनाउन सक्नेछु’ यसो भन्दै देउवा आगामी चुनावमा पार्टीलाई आफूले मात्र ठूलो बनाउन सक्ने आशाको सञ्चार प्रतिनिधिमाझ गराउन खोजेका छन् ।

तर, आफूले हारे गठबन्धन सरकार ढल्ने भन्दै उनले चेतावनी दिँदै गर्दा सभापतिका अर्का उम्मेदवार डा.शेखर कोइरालाले त्यसलाई अस्वीकार गरेका छन् । सभापतिमा देउवा पराजित हुँदा गठबन्धन अझै बलियो बन्ने तर नेतृत्व परिवर्तन हुने शेखरले बताउँछन् । कांग्रेसको नेतृत्व परिवर्तन भएको अवस्थामा गठबन्धन अझै बढी सुदृढ र संगठित भई आगामी निर्वाचनमा होमिने शेखरको दावी छ ।

शेखरलाई युवाको आश

सभापतिका उम्मेदवार शेखरलाई युवाहरुको साथ र सहयोगले आफू बिजयी हुनेमा ढुक्क छन् । आफ्नो समुहमा विभिन्न पदका लागि युवालाई समेटेका शेखरले पुरानो तथा नयाँ पुस्ताका नेता एवं प्रतिनिधिहरुको साथ आफूलाई भएको आशा छ ।

शेखरले पदाधिकारीमा प्रभावशाली नेताहरूको टिम बनाएर देउवासामु कडा चुनौती प्रस्तुत गरेका छन् । उनले पदाधिकारीमा युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, देवराज चालिसे, जीवन परियारलाई जोडेका छन् । विगतमा रामचन्द्र र शशांक कोइराला दुवैको विश्वास जित्न सबैलाई उनले टिममा समेटेका छन् ।

संस्थापन समुहबाट विमलेन्द्र निधिले समेत सभापतिमा उम्मेदवारी दिएकाले देउवाको मत विभाजन हुने मुल्यांकन शेखरको छ । संस्थापनइतर समुहबाट प्रकाशमान सिंहले उम्मेदवारी दिएपनि आफूलाई खासै फरक नपर्ने विश्लेषण गर्दै शेखरले दोस्रो चरणको निर्वाचनमा सभापतिका अन्य उम्मेदवारको समेत आफूले साथ पाएर बिजयी हुनेमा ढुक्क छन् ।

तर, सिटौला, बिजय गच्छेदारलगायतका नेताहरुले देउवालाई साथ दिएकाले शेखरले सोचेजस्तै नहुन पनि सक्छ । सरकारको नेतृत्व गरिरहेका देउवाले मतदातालाई बिभिन्न पदको लोभ दिएर आफ्नो पक्षमा पार्न सक्नेछन् । तर, पनि शेखरले युवाहरुको सहयोगमा जसरी पनि बिजयी हुने गरी अभियानमा छन् ।

शेखरको समुहमा रहेका युवा नेताहरुले माहोल तताइरहेका छन् । विभिन्न ठाउँ एवं समुहमा गएर ति युवा नेताहरुले कांग्रेसलाई गतिशील एवं बलियो बनाउनका लागि शेखर आवश्यक रहेको तर्क गरिरहेका छन् । कांग्रेसलाई आगामी निर्वाचनमा बहुमतसहित बिजयी गराउनका लागि शेखरको विकल्प नभएको दावी ति युवा नेताहरुको रहेको छ ।

एक कार्यक्रममा गगनले भने, ‘नेपाली कांग्रेसले निर्वाचन एक्लै जित्ने हो भने अहिले भएका मतदतामा १०÷१२ लाख मतदाता थप्नुपर्छ । यसका लागि यस्तो नेतृत्व चाहियो कि कांग्रेसको नेतृत्व यो हो है भनेर हेर्दै गर्दा पार्टी बाहिरका मान्छेहरुलाई कांग्रेसमा आऔँआऔँ लागोस् । कांग्रेसको घरभित्र पसौंपसौं लागोस् । शेखर कोइरालाको नेतृत्वमा कांग्रेस त्यस्तो देखिन्छ ।’

महामन्त्रीका उम्मेदवार थापाले आफूहरु कसैलाई हराउन उम्मेदवार नभएको बताए । उनले आफूहरु पार्टीमा कसैलाई पराजित गर्न नभइ जितेर सिँगो पार्टीलाई बिजयी बनाउन चाहिरहेको बताए । उनले आफूहरुको तागत भृकुटीमण्डपमा रहेको भन्दै त्यहाँ रहेका मतदाताको भावनालाई पनि समेट्न खोजेका छन् ।

महाधिवेशनमा ४ हजार ७०० भन्दा बढी मतदाता रहेको निर्वाचन समितिले जनाएको छ । कांग्रेस प्रतिनिधिले सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री र समावेशीसहित आठ सह–महामन्त्रीका लागि पदाधिकारीमा मतदान गर्नुपर्ने हुन्छ ।

मतदानबाट खुल्ला ३५, महिला, मधेसी र दलित ९–९, हरेक प्रदेशबाट ३ जनासहित २१, आदिवासी जनजाति १५, खस आर्य १३, थारु ४, मुस्लिम ३ र पिछडिएको क्षेत्र, अपाङ्ग र अल्पसंख्यकबाट १–१ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

कांग्रेसको कोषाध्यक्षसहित ३३ केन्द्रीय सदस्य निर्वाचित सभापतिको सिफारिसमा केन्द्रीय समितिबाट मनोनीत हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्