Logo
Logo
कांग्रेसको १४औं महाधिवेशन

सिंह र निधिको साथले देउवा सभापति निर्वाचित हुने निश्चित

सिंहलाई प्रधानमन्त्री र निधिलाई १५औं महाधिवेशनबाट सभापति बनाउँने आश्वासन



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको निर्वाचन आज हँुदैछ । पहिलो चरणको निर्वाचनबाट सभापतिमा विजयी हुन नसकेका शेरबहादुर देउवा दोस्रो चरणको निर्वाचनबाट विजयी हुने निश्चित भएको छ ।

पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार रहेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई नै समर्थन गर्ने निर्णय गरेपछि दोस्रो चरणको निर्वाचनबाट उनको विजयी निश्चित रहेको देखिन्छ ।

पहिलो चरणको निर्वाचनबाट सभापतिमा विजयी हुन नसकेपछि देउवाले सिंह र निधिको निवासमै पुगेर सहयोगका लागि आग्रह गरेका थिए । देउवाले सिंहलाई प्रधानमन्त्रीको आश्वासन दिएका छन् भने निधिलाई आफ्नो समुहबाट १५औं महाधिवेशनमा सभापति बनाउँने आश्वासन दिएका छन् ।

सिंह र निधिले देउवाबाट ‘बम्पर उपहार’सहितको आश्वासन पाएपछि दोस्रो चरणको निर्वाचनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सार्वजनिक रुपमा उनीहरुले देउवालाई दोस्रो चरणको निर्वाचनमा सहयोग गर्ने बताइसकेका छन् ।

प्रधानमन्त्री समेत रहेका देउवा र डा. शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचन आजै हुँदैछ । आज साढे ३ बजेदेखि दोस्रो चरणको मतदान कार्यक्रम सार्वजनिक गरिएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार पहिलो चरणको निर्वाचनमा पार्टीको विधानअनुसार कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि दोस्रो चरणको निर्वाचन हुन गइरहेको हो ।

पहिलो चरणको चुनावमा खसेको ४६७९ मध्ये देउवाले २२५८ मत पाएका थिए भने कोइरालाले १७०२, सिंहले ३७१, निधिले २५०, र कल्याण गुरुङले २० मत प्राप्त गरेका थिए ।

केन्द्रीय निर्वाचन समितिका अनुसार सभापति पदमा देउवाले ४८.२३ प्रतिशत मत ल्याएका छन् । यस्तै कोइरालाले ३६.९३, सिंहले ७.९३, विमलेन्द्र निधिले ५.३० र कल्याण गुरुङले ०.०४ प्रतिशत मत हासिल गरेका छन् । सभापतिमा बिजय हुनका लागि ५० प्रतिशत भन्दा बढी मत ल्याउँनुपर्ने कांग्रेसको विधानमा व्यवस्था रहेको छ ।

नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा देउवाको ११ मत कम हुँदा दोस्रो चरणमा सभापतिको निर्वाचन भएको थियो । १४ औँ महाधिवेशननमा ८१ मत उनलाई सभापति हुन नपुगेपछि दोस्रो चरणको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्