Logo
Logo

नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा ‘मह जोडी’ नियुक्त



काठमाडौं । नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा ‘मह जोडी’ मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य नियुक्त भएका छन् । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आज (मंगलबार) आयोजित एक कार्यक्रममा मह जोडी र टेलिकमबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय श्रेष्ठ र आचार्यका साथै कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज वलीले हस्ताक्षर गरे ।

उक्त अवसरमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई नेपाल टेलिकमको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गर्न पाउँदा गौरवान्वित महशुस गरेको बताए ।

उनले कम समयमै थप आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाहरुका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बेसडरहरुको भूमिका सहयोगी हुने विश्वास लिएको बताए ।

कलाकारद्वय श्रेष्ठ र आचार्यले स्वदेशको लगानी भएको, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम जस्तो संस्थाको ब्राण्ड एम्बेसडर हुन पाएकोमा आफूहरूले गौरवान्वित महशुस गरेको बताए ।

मुलुकको कलाकारिता क्षेत्रमा विशिष्ठ पहिचान भएका ब्राण्ड एम्बेसडद्वयको संलग्नताबाट कम्पनीका ग्राहकवर्गले कम्पनीका सेवा सुविधासम्बन्धी जानकारी थप सहजरुपमा प्राप्त गर्न सक्ने कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्