Logo
Logo

वाग्मतीका नवनियुक्त पाँच मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ



काठमाडौं । वाग्मती प्रदेशका नवनियुकत पाँच मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । मंगलबार साँझ आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख यादव शर्मासमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

शपथ लिनेहरुमा नेकपा (माओवादी केन्द्र) का घनश्याम दाहाल श्रम रोजगार तथा यातायात, विशाल खड्का वन तथा वातावरण, रत्नप्रसाद ढकाल युवा तथा खेलकुद, नेकपा (एकीकृत समाजवादी) का बसन्तकुमार मानन्धर खानेपानी, उर्जा तथा सिँचाई र बसुन्धरा हुमागाईं कृषि तथा पशुपन्छीमन्त्री छन् । यस्तै कृषि तथा पशुपंछी राज्यमन्त्रीका रुपमा नेकपा (एस)की इन्द्रमाया गुरुङलाई शपथ लिएकी छन् ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए ।

पाण्डेले पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिलामन्त्री बनाएका थिए ।

दोस्रो चरणमा माओवादी केन्द्र संसदीय दलका नेता सालिकराम जम्कट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाले । वाग्मतीमा मंसिर १५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ८ वटा मन्त्रालय फुटाएर १४ वटा मन्त्रालय बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्