Logo
Logo

अझै बनेन चाबहिल-जोरपाटी-साँखु सडक



काठमाडौं । चाबहिल–जोरपाटी–साँखु सडक विस्तारमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ सालमै १२ किमि सडकलाई २२ मिटर फराकिलो बनाउने उद्देश्यले विस्तारको काम थालेको थियो । तर, अहिलेसम्म पनि सडक विस्तारको काम सम्पन्न हुन सकेको छैन् ।

सडक विस्तारमा भइरहेको ढिलाइले काठमाडौंको पूर्वी क्षेत्रको मुख्य यो सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे बन्ने गर्छ ।

समस्या नभएका सबै ठाउँहरुमा कालोपत्र भइसके पनि साँघुरा बस्ती भएका ठाउँमा कालोपत्र हुन बाँकी रहेको बताइएको छ । विगतका वर्षमा जग्गा प्राप्त हुन नसकेको ठाउँमा काम गर्न बाँकी रहेको छ ।

अहिले डाँछि, थली र तिवारी टोलमा विवादका कारण काम गर्न नसकिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

२० मिटर चौडाइका लागि जग्गा उपलब्ध हुन नसकेपछि अब जति जग्गा उपलब्ध छ त्यसैमा कालोपत्र गरिने आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । उनले भने, ‘हामीले उपलब्ध चौडाइमा नै काम गर्न स्वीकृति पनि पाइसकेका छौँ ।’

कतिपय ठाउँमा २० मिटर चौडा बनाएर पैदल यात्रु मार्ग बनाए पनि अहिले स्थानीयवासीले त्यहाँ काम गर्न नदिएको आयोजनाले जनाएको छ । पैदल यात्रुमार्ग भन्दा भित्र पर्ने सडकमा नै तरकारी रोपेको र पर्खाल लगाएको सूचना अधिकारी जोशीले बताए ।

‘स्थानीयवासीले पहिले कालोपत्र भएको ठाउँमा मात्रै गर्न दिने भएकाले त्यसमा मात्रै गरिनेछ’ उनले भने, ‘अब १० मिटर चौडाइमा मात्रै कालोपत्र गरेर ठेक्का सम्पन्न गर्ने तयारी अघि बढाइएको छ ।’

यी ठाउँहरुमा अहिले हिमपाइप हाल्नेलगायत कालोपत्र गर्नका लागि आबश्यक तयारीका काम समेत भइरहेको सूचना अधिकारी जोशीले बताउनुभयो । निर्माण व्यवसायी पनि काम गर्न तयारीमा छ ।

सो ठेक्काको अवधि हाल चैतसम्म भएकाले सो अवधिसम्ममा सम्पन्न भइसक्ने उनको भनाइ छ । सो सडक कागेश्वरी–मनोहरा, गोकर्णेश्वर र शङ्करापुर गरी तीन नगरपालिकामा पर्छ ।

लामो समयसम्म पनि विवादका कारण निर्माण अघि बढ्न नसकेपछि आयोजनाले पालिकाहरुसँगको समन्वयमा निर्माण अघि बढाएको थियो । यहाँका जनप्रतिनिधि चौडाइ बढाएरै कालोपत्र गर्नुपर्छ भन्ने पक्षमा रहेकाले समन्वय पनि गरेका थिए ।

लामो समयसम्म पनि सडकमा कतिपय स्थानमा एक वा दुई घरका कारणले पनि सडक निर्माण अवरुद्ध बनेको थियो । आयोजनाले सम्बन्धित नगरपालिका र वडासँगको समन्वयमा नै ती समस्या हल गरेर काम अघि बढाएको थियो ।

आयोजनाले चार वर्ष पहिले ठेक्का सम्झौता गर्दा पैदलयात्रुमार्ग, वर्षाको पानी जम्मा हुने पाइपलगायत संरचनासमेत निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको थियो । आयोजनाले २० मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता गरेपनि अहिले झण्डै आधा चौडाइमा मात्रै मापदण्डअनुसार काम हुन सकेको छ ।

प्रतिक्रिया दिनुहोस्