Logo
Logo

नेपाल प्रहरीको चिरफार गर्दै ‘कप्स’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ जेठ । प्रायः नेपाली चलचित्रमा नेपाल प्रहरीको चरित्र नकरात्मक देखाउँदै आएको बेला ‘कप्स’ (सत्य सेवा सुरक्षणम्)मा दर्शकले उनीहरुको चरित्र सकरात्मक देख्न पाउने भएका छन् ।
विश्वका राम्रो प्रहरीको रुपमा नेपाली प्रहरीले बनाएको छविलाई आफुहरुले ‘कप्स’मा प्रस्तुत गरेको यसका निर्देशक सम्राट सापकोटाले बताएका छन् । प्रहरीले राम्रो काम गरेको भएपनि उनीहरुमाथि जनताको हेराइ र बुझाइ किन नकरात्मक छ ? भन्ने बिषयलाई आफ्नो सिनेमाले चिरफार गर्ने निर्देशक सापकोटाले बताए ।
सञ्चारकर्मीसँगको भेटघाटमा निर्देशक सापकोटाले भने, ‘नेपाल प्रहरी अहिले पनि विश्वमा सक्षम प्रहरी भनेर चिनिएको छ । त्यसैले मेरो चलचित्र कप्सले अपराध नियन्त्रणमा नेपाल प्रहरीको सफलताको कथा प्रस्तुत गरेको छ ।’
यसअघि दुई दर्जन भन्दाबढी चलचित्रमा अभिनय गरेका सम्राटले चलचित्र कप्सबाट निर्देशनमा हात हालेका हुन् । यही १७ जेठमा देशव्यापी सिनेमा हलमा रिलिज हुने यो चलचित्रमा प्रहरी नायव उपरिक्षकको रुपमा अभिनेता अनुपबिक्रम शाहीलाई उतारिएको छ ।
यसअघि प्रायः खलचरित्रमा उत्रने गरेको अनुपलाई कप्समा एउटा सक्षम र देशभक्त प्रहरीको रुपमा प्रस्तुत गरिएको पनि निर्देशक सापकोटाले बताए । कप्समा अनुपबिक्रमसँगै सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, रोशन सुवेदी, सुन्दर श्रेष्ठलगायतको मुख्य भूमिका रहेको छ ।
सापकोटाका अनुसार कप्स ‘थ्रिपी’ अर्थात ‘पोलिटिक्स, पुलिस र पब्लिक’मा केन्द्रित रहेको छ । मुलुकमा बढ्दो, अपहरण, बलात्कार, हत्या, गुन्डागर्दीले समाजमा निम्त्याएका समस्या र त्यसलाई नियन्त्रण गर्न प्रहरीको भोग्नु परेको चुनौतीको सेरोफेरोमा आफ्नो फिल्म भएको पनि यी निर्देशकको कथन छ । यो चलचित्रलाई उनी आफैँले लेखेका हुन् । राम शाक्यले निर्माण गरेको यो चलचित्रमा सुसन प्रजापतिको छायाँकन, बिपिन मल्लको सम्पादन, स्वयम्भुराज शाक्यको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्