Logo
Logo

प्रदेश १ को नामाकरण चाँडै टुंग्याउँछौँ : मुख्यमन्त्री राई


1.6k
Shares

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ भोन क्याप्लरबीच भेटवार्ता भएको छ । बिहीबार भएको भेटवार्तामा द्विपक्षीय हितका बारे छलफल भएको बताइएको छ ।

मुख्यमन्त्रीको कार्यकक्षमा भएको भेटमा मुख्यमन्त्री राईले प्रदेश १ लाई प्राथमिकतामा राखेर स्वीस सरकारले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त अवसरमा स्वीस राजदूत क्याप्लरले नवनियुक्त मुख्यमन्त्री राईसँग आफ्नो पहिलो शिष्टाचार भेटघाट भएको बताए । उनले विगतका सरकारमार्फत गरिएका राम्रा लागेका कामलाई निरन्तरता दिने मुख्यमन्त्रीको वचनवद्धताप्रति आभार पनि प्रकट गरे ।

राजदूत क्याप्लरले मुख्यमन्त्री भएपछि प्राथमिकताका क्षेत्रबारे राखेको जिज्ञासामा मुख्यमन्त्री राईले प्रदेश १ को नाम चाँडै टुंगाउने बताए । ‘हाम्रो प्रदेशको नामाकरण गर्नेसहित अन्य केही प्राथमिकता छन्,’ मुख्यमन्त्री राईले भने ।

उनले पूर्ववर्ती सरकारले थालेका तर पूरा नभएको कामका कारणले वर्तमान सरकारको केही दायित्व बढी भएको उल्लेख गरे । मुख्यमन्त्री राईले अनावश्यक योजना कटौती गर्ने, राजश्व बृद्धि गर्ने र अनुदान जुटाउने काममा लाग्नुपरेको उल्लेख गर्दै गर्दै भने, ‘प्रदेश सरकारका आफ्ना कार्यालयहरू राख्ने संरचना नभएको अहिले अवस्थामा संघीयता कार्यान्वयनका सन्दर्भमा विगतका सरकारको मौनता र सुस्तताले वर्तमान सरकारलाई बढी चापमा पारेको छ ।’

उनले कर्मचारी पर्याप्त नभएो बताउँदै संघीय सरकारले पठाएका कर्मचारीको भर पर्नुपरेको बताए । मुख्यमन्त्री राईले भने, ‘अब हामी संघीयता कार्यान्वयनको सवालमा प्रदेश सरकारको भूमिकालाई गहिरो आत्मसात् गरी अघि बढ्ने छौँ ।’

प्रतिक्रिया दिनुहोस्