Logo
Logo

लोसपामा महन्थ र राजेन्द्रबीच चर्कियो विवाद



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) भित्र विवाद चर्किएको छ । प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष नियुक्तिको बिषयलाई लिएर अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समुहबीच विवाद चर्किएको हो ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट बिभाजन भई गठन भएको लोसपामा बिभिन्न पदको नियुक्तिलाई लिएर विवाद चर्किएको हो । पार्टीभित्रको आन्तरिक विवादका कारण पार्टीको बैठक समेत बस्न सकिरहेको छैन् ।

अध्यक्ष ठाकुरले पार्टीको प्रदेश २ मा जितेन्द्र सोनललाई नियुक्त गरेका छन् । प्रदेश २ का पुर्व मन्त्री समेत रहेका सोनल प्रदेश सांसद तथा लोसपा कार्यकारिणी समितिका सदस्य समेत हुन् । उनी तत्कालिन तमलोपा ठाकुर समुहका नेता हुन् ।

यस्तै अध्यक्ष ठाकुरले बिभिन्न जिल्लामा अध्यक्ष नियुक्ती गरेका छन् । जसपा स्रोतका अनुसार बारामा नवलकिशोर सिंह, पर्सामा पुरुषोत्तम झा, रौतहटमा लिला साह, सर्लाहीमा रामप्रसाद यादव, महोत्तरीमा रामबाबु साहलाई ठाकुरले अध्यक्ष नियुक्त गरेका छन् ।

यसैगरी धनुषामा प्रमेश्वर साह, सिरामा रामदयाल यादव, सप्तरीमा सुनिलकुमार झा, कपिलबस्तुमा कैलाश अग्रहरी र मोरंगमा काविर अलिलाई जिल्ला अध्यक्ष ठाकुरले नियुक्त गरेका छन्् ।

बाराका सिंह, पर्साका झा, धनुसाका साह, सर्लाहीका यादव र मोरंगका अलि ठाकुर समुहका नेता हुन् । यि अध्यक्षहरु तत्कालिन ठाकुर अध्यक्ष रहेको तत्कालिन तमलोपा समुहका हुन् । यस्तै महोत्तरीका साह, सिराहा यादव लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी समुहका अध्यक्ष हुन् । यि अध्यक्षहरु भण्डारी अध्यक्ष रहेको तत्कालिन रामसपा समुहका हुन् ।

रौतहका अध्यक्ष साह लोसपा नेता अनिल झा निकटका हुन् । सप्तरीका अध्यक्ष झा, कपिलबस्तुका अध्यक्ष अग्रहरी वरिष्ठ नेता राजेन्द्र महतो समुहका हुन् । यि अध्यक्ष महतो अध्यक्ष रहेको तत्कालिन सदभावना पार्टीका नेता हुन् ।

प्रदेश २ मा तत्कालिन महतो निकट मानिने तत्कालिन सदभावना पार्टीका नेतालाई जिम्मेवारी नदिएको भन्दै उनी निकटका नेताहरुले विरोध गरेका छन् । जिल्ला जिल्लामा निर्णय गरेर विरोध भईरहेको छ । पर्सा सहित कतिपय जिल्लामा प्रदर्शन समेत भएको छ ।

लोसपाका अध्यक्ष ठाकुरले जिल्ला तथा प्रदेश अध्यक्ष तथा पर्यवेक्षक नियुक्त गर्न थालेपछि सोही पार्टीका वरिष्ठ नेता महतो समुहले कडा रुपमा विरोध गर्न थालेका छन् । अध्यक्ष ठाकुरले पार्टीमा कुनै सल्लाह नै नगरी एकलौटी रुपमा प्रदेश अध्यक्ष मनोनित गरेको आरोप महतो समुहका नेताहरुले लगाएका छन् । सोही क्रममा महतो समुहका नेता सन्तोष मेहताले आफ्नो फेसबुकमा लेखेका छन्, ‘लोसपा भनेको तमलोपा होइन होला नि !’

अध्यक्ष ठाकुरले तत्कालीन तमलोपा जसरी चलाउँथे, त्यसरी नै लोसपा चलाउन खोजेको मेहताको आरोप छ । उनले भने, ‘जिल्ला तथा प्रदेशहरुमा अध्यक्षलगायत विभिन्न पदमा मनोनयन गरिरहनु भएको छ तर त्यसको बारेमा पार्टीमा कुनै सल्लाह कसैसँग छैन, यो तरिकाले पार्टी चलाउन गाह्रो हुन्छ ।’

तर अध्यक्ष ठाकुर समुहका नेताहरु भने महतो समुहका नेताहरुको आरोप स्वीकार गर्न तयारी छैनन् । प्रदेश, जिल्ला अध्यक्षहरुको नियुक्ति वरिष्ठ नेता महतोकै सल्लाहमा भईरहेको ठाकुर समुहका नेताहरु बताउँछन् ।

ठाकुर निकटका नेता संजय यादवले प्रदेश, जिल्ला अध्यक्षहरुको नियुक्ती वरिष्ठ नेता महतो सहित अन्य नेताहरुकै सल्लाहमा भईरहेको बताए । सबै नेतासँग सल्लाह गरेरै ठाकुरले काम गरिरहेको दाबी उनको छ ।

उनीहरुका अनुसार अध्यक्ष ठाकुरले पार्टीमा छलफल गरेरै जिल्लाहरुमा मनोनयन गर्ने अधिकार लिएका छन् । त्यही अनुसार पछिल्लो समय नियुक्ति तथा जिम्मेवारी तोक्ने काम भइरहेको यादवले बताउँछन् ।

केन्द्रमा सबै कुरा ठिक छ भन्ने तर तल आफ्नो कार्यकर्ताबाट विरोध गराउने काम केही नेताबाट भइरहेको भन्दै उनले यसलाई ‘गलत प्रवृत्ति’ को संज्ञा दिए । उनले भने, ‘महन्थ ठाकुरले राजेन्द्र महतोसँग सल्लाह नगरी काम गर्नुभएको हो भने त्यो कुरा महतोजीले भन्नुपर्ने हो । उहाँ आफै केही पनि नबोल्ने अनि आफ्ना कार्यकर्ताबाट तल बिरोध गराउनुले पार्टीको हित गर्दैन ।’

अध्यक्ष ठाकुरले २५ मंसिरमा लोसपाका कार्यकारिणी सदस्य सोनललाई प्रदेश २ को अध्यक्षमा मनोनय गर्दा धनुषामा रहेका वरिष्ठ नेता महतो पक्षका कार्यकर्ताहरुले विज्ञप्ति निकालेर विरोध जनाएका थिए । त्यसपछि धनुषामै महन्थ ठाकुर पक्षका नेता तथा कार्यकर्ताहरुले विज्ञप्ति जारी गरेर सो मनोनयनलाई समर्थन जनाएका छन् ।

लोसपा स्रोतका अनुसार अधिकांश ठाउँमा ठाकुरले आफू निकटका नेताहरुलाई नियुक्ती गर्न थालेपछि विवाद चर्किएको हो । यि विवादहरु छिटै समाधान नभए पार्टीमा ठुलो विद्रोह हुन सक्ने चर्चा समेत हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्