Logo
Logo

प्रहरीबाट वडाध्यक्ष कुटिएपछि डोकेबजारमा तनाव


- दृष्टि न्युज/संवाददाता


भीमदत्तनगर, १० जेठ । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का वडाध्यक्षमाथि प्रहरीले कुटपिट गरेपछि स्थानीयले आज बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् । आफ्नो जनप्रतिनिधि प्रहरीबाट कुटिएपछि आक्रोशित स्थानीयले प्रहरी चौकी घेराउ गर्नुका साथै चौकी अगाडी टायर बालेर दोषीलाई कारबाहीको माग गरेका छन् ।
बिहीबार राति पुनर्वासको डोकेबजार प्रहरी चौकीमा विवाद मिलाउने क्रममा प्रहरीले वडाध्यक्ष तुलसी अर्यालमाथि कुटपिट गरेको हो । कुटपिटबाट घाइते भएका अर्यालको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि धनगढी लगिएको छ ।
आफूहरुको जनप्रतिनिधि प्रहरी अधिकृतको निर्देशनमा कुटिएको भन्दै स्थानीयले डोकेबजार–बेलौरी हुलाकी सडक ठप्प पार्नुका साथै स्थानीय बजारसमेत बन्द गराएका छन् । गाउँमा युवायुवतीको विवाद मिलाउने क्रममा वडाध्यक्ष अर्याललाई रोहबर बस्न राति चौकी बोलाइएको थियो ।
स्थानीयवासीको तोडफोड र प्रदर्शनलाई मध्यनजर गर्दै ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । स्थानीय प्रशासनले विवाद साम्य पार्ने विषयमा छलफल गरिरहेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ । कुटिएका वडाध्यक्ष कांग्रेसबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्