Logo
Logo

किबीका बिरुवा भूटान निर्यात



झापा । पूर्वीनाका काँकडभिट्टाबाट किबीको बिरुवा भूटान निर्यात हुन थालेको छ । इलाममा उत्पादित किबीको बिरुवा भूटान निर्यात गरिएको हो ।

भूटानले किबीखेतीमा किसानलाई प्रोत्साहन गरेपछि यसको बिरुवाको माग भएको झापास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका प्रमुख देविन्द्र साहुले बताउनुभयो । रु एक लाख १५ हजार बराबरको एक हजार २०० वटा किबीको बिरुवा भूटान निकासी भएको छ । “चालु आवमा पहिलोपटक किबीको बिरुवा पूर्वीनाका हुँदै निर्यात भएको हो”, उहाँले भन्नुभयो ।

किबी फलको आयात भारतबाट भइरहेका बेला इलामका किसानले उत्पादन गरेको सोही फलको बिरुवा निर्यात हुनु सुखद कुरा भएको साहुले बताउनुभयो । उहाँले भन्नुभयो, “यसबाट किसानमा उत्साह थपिन्छ ।” यसअघि आव २०७४÷७५ मा १०० र आव २०७५÷७६ मा किबीका २०० वटा बिरुवा भारत निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । इलाममा एक दशकअघि किबीखेती सुरु गरिएकामा हाल उक्त खेती २० हजार रोपनीमा विस्तार भएको छ ।

विगत लामो समयदेखि किबीको नर्सरी सञ्चालन गर्दै आएको हिस्ट्री किबी प्रालिले बङ्गालादेश र भारतका विभिन्न ठाउँमा किबीको बिरुवा निर्यात गर्दै आएको सञ्चालक पार्वती खतिवडाले बताउनुभयो । पाँच वर्ष अघिदेखि किबीको बिरुवा भूटान निर्यात गर्दै आएको उहाँको दाबी छ । समुद्र सतहको ८०० मिटरदेखि दुई हजार ९०० मिटरको उचाइसम्म किबीखेती हुने गरेको छ । “यस वर्ष १० हजारभन्दा बढी बिरुवा बिक्री भइसकेको छ”, खतिवडाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्