Logo
Logo

अमेरिकाको पहिलो नेपाली डेलिगेट भण्डारीलाई विद्यावारिधि



बाल्टिमोर । नेपाली मूलका अमेरिकी डेलिगेट ह्यारी भण्डारीले विद्यावारिधि गरेका छन् । उनले युनिभर्सिटी अफ मेरिल्याण्ड, बाल्टीमोर काउण्टी (युएमवीसी)बाट नेपाली–अमेरिकीहरूको राजनैतिक सहभागिता तथा भाषिक एकीकरण शीर्षकमा शोध गर्दै विद्यावारिधि गरेका हुन् ।

विश्वविद्यालयमा मंगलबार दिउँसो आयोजित एक दीक्षान्त समारोहमा उनलाई विद्यावारिधिको प्रमाणपत्र प्रदान गरियो । समारोहमा उनी नेपाली पहिरनमा सहभागी भएर आफ्नो जन्मभूमिप्रतिको श्रद्धा र सम्मान प्रकट गरेका थिए ।

दीक्षान्त समारोहपछि संक्षिप्त प्रतिक्रिया दिदैं उनले भने, ‘यो मेरो लागि एक सपना थियो । आज विपनामा परिणत हुँदा धेरै खुशी छु । म यसको श्रेय मेरो जन्मभूमि नेपाल र मेरो कर्मभूमी अमेरिका अनि यहाँ रहेका सबै नेपालीमा सरोबरी बाँड्न चाहन्छु ।‘

आफ्नो विद्यावारिधि अरूभन्दा भिन्न र अमेरिकामा रहेका नेपालीका लागि विशेष भएको बताउँदै उनले अगाडि भने, ‘मैले अमेरिकामा रहेका नेपालीको राजनीतिक सहभागिता र भाषिक एकीकरणमाथि मिहीन अध्ययन गरेर त्यसको निस्कर्ष प्रस्तुत गरेको छु । मेरो विद्यावारिधि त्यही निष्कर्षको प्रमाणितरूप हो । यो निस्कर्षले अमेरिकी संस्थापनलाई अमेरिकामा रहेका नेपालीलाई हेर्ने झ्याल मात्र हैन, ढोका पनि खोलिदिएको छ।‘

अमेरिकामा रहेका नेपालीलगायतका एसियाली अल्पसंख्यकलाई एउटै बास्केटमा राखेर सोलोडोलो किसिमले हेर्ने दृष्टिकोणमाथि आफ्नो अनुसन्धानले चुनौति खडा गरेको बताउँदै उनले अगाडि भने, ‘ अमेरिकी संस्थापनले एसियाली अल्पसंख्यकलाई धनी, बाठा, शिक्षितका रूपमा हेर्ने गरेको छ। तर, मेरो अध्ययनले त्योभन्दा फरक तस्बिर देखाएको छ।‘

आफ्नो विद्यावारिधिले अमेरिकामा रहेका सबै नेपालीको साझा प्रश्नको उत्तर खोजेको बताउँदै भण्डारीले भने, ‘अनुसन्धानमा आधारित यो प्राज्ञिक उपलव्धीको स्वामित्व लिइदिन सबैमा विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। ‘

अमेरिकाको मेरिल्याण्ड राज्यका डेलिगेट भण्डारी अमेरिकी मूलधारको राजनीतिमा यो मानक उपलव्धी हासिल गर्ने पहिलो नेपाली हुन् ।

अमेरिकामा रहेको एसियाली अल्पसंख्यक त्यसमा पनि सीमान्तकृत बनाइएको नेपाली मूलको प्रतिनिधित्व गर्ने उनलाई यो प्राज्ञिक उपलव्धीले एक अनुसन्धानकर्ता–राजनीतिकर्मीका रूपमा उभ्याउने छ । यसले सिर्जना गर्ने विश्वसनियता र आधिकारिकताको अमेरिकी सार्वजनिक जीवनमा ठूलो अर्थ राख्छ ।

नेपाली मूलको पहिलो अमेरिकी डेलिगेट भण्डारी डेमोक्रेटिक पार्टीको प्रतिनिधित्व गर्छन् । पहिलो चारवर्षे कार्यकालको अन्तिम वर्षमा रहेका उनले अर्को वर्षको नोभेम्बरमा हुने निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेद्वारी घोषणा गरिसकेका छन् । चुनावी क्याम्पेनमा रहेका भण्डारीलाई यो उपलव्धीले थप ब्राण्डिङ गर्न सहयोग पुग्नेछ ।

२०३४ असोज १५ गते नेपालको पर्वतमा जन्मेका भण्डारी सन् २००६ मा अमेरिका आएका थिए । अमेरिका आप्रवासमा आएको पहिलो पुस्ताले गर्ने प्रारमिभ्क संघर्षका विभिन्न चरण पार गर्दै अगाडि बढेका उनी अमेरिका आएर नेपाली अमेरिकी भएपछि यहीको मूलधारको राजनीति गर्नुपर्छ भन्ने मान्यताको वीउ रोप्ने अगुवामध्येमा पर्छन् । उनले त्यही बीउ उमारेर सबैले देख्ने गरी सम्भावनाको विरूवा हुर्काइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्