Logo
Logo
कांग्रेसकाे प्रदेश २ अधिवेशन

मतदानको विषयमा विवाद हुँदा नेताहरूबीच कुटाकुट



जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा कुटाकुट भएको छ । मतदानको बारेमा विवाद भएपछि नेताहरुबीच कुटाकुट भएको हो ।

बुधबार साढे दुई बजेबाट मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक भएको थियो । तर मतपत्र छाप्नमा ढिलाई भएपछि मतदान कार्यक्रम आज गर्ने की भोलि भन्ने बारेमा विवाद भएपछि नेताहरु कुटाकुटमा उत्रेका हुन् ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा जारी कांग्रेस प्रदेश अधिवेशनमा ७२ पदका लागि १ सय ८० जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमध्ये पाँच जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रदेश २ को अधिवेशनमा सभापति शेरबहादुर देउवा समूहबाट सभापतिका उम्मेदवार रहेका कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने तथा विमलेन्द्र निधि समूहबाट सभापतिका उम्मेदवार भएका रामसरोज यादवले बिहीबारका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवाद भएको हो ।

विवादले उग्ररुप लिएपछि नेताहरुबीच हानाहान भएको हो । सो क्रममा कांग्रेसका केही कार्यकर्ता घाइते भएका छन् ।

कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँच जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । कांग्रेस प्रदेश निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमका अनुसार प्रदेश २ अधिवेशनमा पाँच जना निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश सदस्य खुलामा आशाराम चौधरी (सप्तरी) र महिला खुला सदस्यमा विमलादेवी साह (सप्तरी) तथा उषा देवकोटा (महोत्तरी) निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै प्रदेश सदस्यमा मधेसी महिला तर्फ किरण कुमारी (पर्सा) र प्रदेश सदस्य आदिवासी जनजातिमा मनमाया तामाङ्नी निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश सभापतिमा २ जना, उपसभापति २ पदका लागि ५ जना, महामन्त्री २ पदका लागि ५ जना, सहमहामन्त्री पुरुष २ पदका लगि ८ जना र सहमहामन्त्री महिला १ पदका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा समुहबाट प्रदेश सभापतिमा कृष्ण यादव र कांग्रेस पूर्व उपसभापति विमलेन्द्र निधि समुहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका रामसरोज यादवले प्रदेश सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश २ निधि र शेखर कोइराला समूहको एक प्यानल छ भने देउवाको अर्को छुटै प्यानल रहेको छ । देउवा समूह र निधि–कोइराला समूहले प्रदेश अधिवेशनका लागि छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार समेत रहेका निधिले दोस्रो चरणको निर्वाचिनमा देउवालाई समर्थन गरेका थिए । दोस्रो चरणको निर्वाचनमा कोइरालालाई समर्थन नगरेका निधिलाई प्रदेश २ मा निधि र कोइरालाको एउटै समुह बन्नुले निर्वाचन झन रोचक र प्रतिष्ठाको बिषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्