Logo
Logo
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन

प्रचण्ड निर्विकल्प अध्यक्ष, महासचिवका चार प्रत्याशी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । पुस ११ गतेदेखि १३ सम्म काठमाडौंको प्रज्ञाभवनमा हुने सम्मेलनमा १५ सय भन्दा बढी प्रतिनिधिको सहभागिता हुनेछ ।

माओवादी केन्द्रको विधान अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव सहित २९९ सदस्यीय केन्द्रीय समिति गठन हुन्छ । यधपी नेताहरुले विधान संशोधन गरेर पदाधिकारी संख्या बढाउँने बारेमा छलफल गरिरहेका छन् ।

माओवादी केन्द्रले विधान परिमार्जन गर्नका लागि विधान मस्यौदा समिति गठन गरेको छ । राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानमा आवश्यक परिमार्जन गर्न स्थायी कमिटीका सदस्य देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृका प्रसाद यादव रहेको समिति गठन गरेको छ ।

विधान मस्यौदा समितिका संयोजक गुरुङले सम्मेलनको हलबाट पारित हुने व्यवस्था अनुसार पदाधिकारी चयन गरिने बताए । पदाधिकारी संख्या बढाउँने बारेमा छललफल जारी रहेको बताउँदै उनले सम्मेलनले नै अन्तिम टुंगो लगाउने बताए ।

अध्यक्षमा प्रचण्ड
माओवादी केन्द्रको अध्यक्षमा पुनः पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै आउँने भएका छन् । माओवादी केन्द्रका नेताहरुले प्रचण्डको बिकल्पमा अर्को नेता नभएकाले उनी नै फेरी अध्यक्ष हुनेछन् ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गुरुङले विगत तीन दशक भन्दा बढीदेखी पार्टीको नेतृत्व गर्दै आएका नेता भएको ठाउँमा अर्को नेता आउने सम्भावना नभएको बताए ।

‘उहाँ (प्रचण्ड) नै फेरी अध्यक्ष बन्नुहुन्छ । विगत तीन दशक भन्दा बढी समयदेखी उहाँले पार्टीको नेतृत्व गर्दै आउँनुभएको छ । उहाँ हुँदाहुँदै अर्कोले दावी गर्ने सम्भावना छैन्’ गुरुङले भने ।

माओवादी केन्द्रका अर्का नेता राम कार्कीले तीन दशकदेखि पार्टी अध्यक्ष रहेका प्रचण्डको विकल्प आगामी सम्मेलनमा पनि नदेखिएको बताउँछन् । माओवादीमा प्रचण्डको उत्तराधिकारी बन्न सक्ने वैचारिक नेता समेत नदेखिएको कार्कीको दाबी छ ।

‘त्यो पार्टी अध्यक्ष फेरिने स्थिति देख्दिनँ । त्यो हुनुपथ्र्यो, भएन् । कांग्रेसमा पनि त्यो देखिएन, एमालेमा पनि देखिएन’ नेतृत्व परिवर्तको सम्भावना बारेमा कार्कीले भने ।

विगत १५–२० वर्षदेखि नेपालको राजनीति विचारबाट निर्देशित भएर अघि नबढेको बताउँदै उनले प्रमुख पार्टीहरूमा नेतृत्वलाई चुनौती दिन सक्ने नेता नजन्मिएको बताए ।

‘नेता भनेको कहिले पनि अंश दिएर हुने होइन् । त्यसरी त शिष्य मात्रै हुन्छन्, नेता हुनलाई त वैचारिक बहससहित आउनुपर्छ । विचारधारात्मक छलफल जहाँ हुन्छ त्यहाँ नेता आउँछन्’ उनले भने ।

माओवादी केन्द्रका अर्का स्थायी कमिटी सदस्य गणेश साहले सम्मेलनबाट नेतृत्व परिवर्तन हुने सम्भावना नभएको बताए । सम्मेलनबाट अध्यक्षमा पुनः प्रचण्ड नै आउँने उनले बताए ।

‘पार्टी र देशमा प्रचण्डको विकल्पमा कोही नेता म देख्दिन् । पार्टीको नेतृत्व लिएर देशको समेत नेतृत्व गर्दै उहाँ अगाडी बढनुहुन्छ । अहिलेको आवश्यकता पनि यही नै हो’ साहले भने ।

पार्टीको रणनीति र नेतृत्वबारे निर्णय लिने राष्ट्रिय सम्मेलनबाट नेकपा एमाले र नेपाली कांग्रेसमा जस्तै माओवादीमा पनि पुरानै पार्टी प्रमुख दोहोरिने निश्चितजस्तै रहेको विश्लेषण भईरहेको छ ।

अध्यक्षका दावेदारका रुपमा देखिएका शिर्ष नेताहरुले पार्टी परित्याग गरिसकेका छन् । अध्यक्ष प्रचण्डसंग बैचारिक मतभिन्ता रहेका नेताहरु डा. बाबुराम भट्टराई, मोहन बैध किरण, रामबहादुर थापा ‘बादल’ नेत्रबिक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरु माओवादी परित्याग गरी अन्य पार्टीको नेतृत्व गरिरहेका छन् ।

पदाधिकारीमा कोको ?

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड पुन दोहोरिने निश्चित छ । तर अन्य पदाधिकारीमा को-को आउने भन्ने बिषयमा समेत चर्चा भईरहेको छ ।

माओवादी केन्द्रको विधान अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव सहित २९९ सदस्यीय केन्द्रीय समिति गठन हुन्छ । अध्यक्ष पदमा प्रचण्ड बाहेक अरु दाबेदार नभए पनि अन्य पदका आकांक्षी बढी छन् । सोही कारण नेताहरुले विधान संशोधन गरेर पदाधिकारी संख्या बढाउने बारेमा आन्तरिक गृहकार्यमा रहेका छन् ।

माओवादी केन्द्रका पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्वमहासचिव कृष्णबहादुर महारा, संगठन विभाग प्रमुख जनार्दन शर्मा, पूर्वसचिव वर्षमान पुन, स्थायी कमिटीका सदस्यहरु देव गुरुङ, लीलामणि पोखरेल, पम्फा भुसाल, हरिवोल गजुरेल, देवेन्द्र पौडेल, गणेश साह, मातृका यादव लगायतका नेताहरु पदाधिकारीका आकांक्षी छन् ।

तर कसैले पनि कुन पदमा उम्मेदवारी दिने भन्ने बारेमा औपचारिक रुपमा घोषणा गरेका छैनन् । माओवादी स्रोतका अनुसार उपाध्यक्षमा श्रेष्ठ हुने निश्चित छ । अध्यक्ष पछिको शक्तिशाली मानिने महासचिवका लागि महरा, शर्मा, पुन, भुसाल लगायतको दावी छ । यसै मध्ये एक जना महासचिव हुने अरु नेता उपाध्यक्ष हुनसक्ने बताइन्छ ।

सोही कारण माओवादीमा उपाध्यक्ष, उपमहासचिव, सचिवको संख्या बढाएर नेताहरुको व्यवस्थापन गर्ने बारेमा छलफल भईरहेको छ । अन्य नेतालाई उपमहासचिव, सचिव बनाउँने गृहकार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्