धनुषा । प्रदेश सभा बैठकमा प्रदेश २ को नाम मधेस प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा र मध्यमधेस प्रदेश प्रस्ताव गरिएको छ । बिहीबार प्रदेश सभाको ८ औं अधिवेशनको दोस्रो बैठकमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रले प्रदेशको नाम मधेस प्रदेश नाम प्रस्ताव गरेका छन् ।
सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेश २ को नाम मधेस राख्न प्रस्ताव गरेका छन् ।
बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले मधेस नाम प्रस्ताव गरेका छन् । विपक्षी दल लोसपाका सांसद रानी कुमारी तिवारीले पनि मधेस नाममै समर्थन जनाइन् ।
माओवादी केन्द्र संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रस्ताद साहले पनि प्रदेशको नाम ‘मधेश प्रदेश’ प्रस्ताव गरे । प्रदेश २ को पहिचान मधेस र मधेसी भएकाले नाम एकमत भएर ‘मधेस प्रदेश’ पारित गनुपर्ने उनको भनाइ छ ।
नेकपा (एकीकृत समाजवादी)ले प्रदेशको नाम जानकी राख्न प्रस्ताव गरेको छ भने नेपाली कांग्रेसले मिथिला भोजपुरा राख्न प्रस्ताव गरेको छ ।
१०४ सदस्यीय प्रदेशसभामा जनता समाजवादी पार्टीका ३९, लोकतान्त्रिक समाजवादी पार्टीका १६ र माओवादी केन्द्रका ८ सांसद छन् । प्रदेशसभाबाट नाम पारित हुन प्रदेशसभाको दुई तिहाइ अर्थात ६९ सांसदको समर्थन आवश्यक पर्छ ।
जसपा, लोसपा र माओवादी केन्द्रको समर्थनले मात्र प्रदेशसभाबाट मधेस नाम पारित हुने सम्भावना देखिन्न ।










