Logo
Logo

लोकसभामा एकैघरका दुई कलाकार निर्वाचित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ जेठ । भारतको लोकसभा निर्वाचनमा एकैघरका दुई बलिउड कलाकार निर्वाचित भएका छन् । हालै सम्पन्न निर्वाचनमा अभिनेता सनी देओल र पुरानी अभिनेत्री हेमा मालिनी निर्वाचित भएका हुन् । हेमा मालिनी, अभिनेता सनीको सौतेनी आमा हुन् ।
पञ्जाबको गुरदासपुरबाट पहिलोपटक सांसदमा उठेका सनीले कंग्रेसका प्रत्यासी सुनिल जाखडलाई पराजित गर्दै निर्वाचित भएका हुन् । हेमा मालिनीले अघिल्लोपटक भारतीय जनता पार्टीको टिकटबाट मथुरामा चुनाव जितेर संसद बनेकी थिइन् । यसपटक पनि उनले मथुराबाटै चुनाव जितेकी छन् ।
देओल परिवारमा सनीको हेमा र सौतेनी बहिनी इशा देओलको खाशै सम्बन्ध राम्रो छैन । तर, चुनावी यो परिणामसँगै अभिनेता धर्मेन्द्रको परिवारिक सम्बन्ध सुधार्ने अपेक्षा गरिएको छ । चुनाव जितेलगत्तै बहिनी इशाले ट्वीटरमा सनीलाई बधाई दिएका छन् । जसले दाजुबहिनीको सम्बन्धमा सुधारको आशा गरिएको हो ।
सन् २०१२ मा इशाले भतर तख्तानीसँग विवाह गर्दा उक्त विवाह समारोहमा सनी र उनका भाई बबी अनुपस्थित भएपछि उनीहरुको सम्बन्ध बिग्रेको हो । देओल दाजुभाईको अनुपस्थितिको विषयलाई मिडियाले राम्रो स्थान दिएको थियो । इशाकी कान्छी बहिनी आहनाको विवाहमा पनि दुई भाई अनुपस्थित थिए । तर, भाइ अभय देओलको विवाहमा भने सनी र बबी उपस्थित थिए ।
ईशाले निर्वाचन आयोगकको प्रमाणपत्रका साथ हेमाको तस्बीर राख्दै बधाई दिएकी छन् । उनले भारतीय नागरिक भएको हिसाबले राम्रो काम गर्न शुभकामना दिँदै बधाई दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्